×

बजेटमाथि नियोजित अफवाह फैलाएर मेरो बदनाम गर्न खोजियो: अर्थमन्त्री डा. वाग्ले

images

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र देशको आगामी आर्थिक वर्षको बजेट विरुद्ध संगठित र योजनाबद्ध रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बजेटका विषयमा आयोजित छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हुन्।

प्रमुख प्रतिपक्षी दलहरूले विभिन्न माग राख्दै प्रतिनिधि सभाको बैठक लगातार अवरुद्ध गरिरहेका बेला अर्थमन्त्री वाग्लेले संसदीय समिति मार्फत आफ्ना कुराहरू सार्वजनिक गरेका हुन्। संसद्‌मा बजेटमाथि खुला, लोकतान्त्रिक र गहन छलफल हुनुपर्नेमा संसद्लाई नै बन्धक बनाएर बाहिर भने आफू विरुद्ध चौतर्फी रूपमा गलत प्रचार गरिएको उनको भनाइ थियो।

बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले संसद् अवरुद्ध भएका कारण आफूले जनताका प्रतिनिधिहरू माझ बजेटको वास्तविक जग र सत्यतथ्य राख्ने मौका नपाएको उल्लेख गरे। सोही कारण आफू स्पष्टीकरण दिन र विपक्षी तथा सरोकारवालाहरूले उठाएका प्रश्नहरूको जवाफ बोकेर संसदीय समितिमा उपस्थित भएको उनले प्रष्ट पारे।

"बजेटका प्राविधिक र नीतिगत विषयमा स्वस्थ आलोचना हुनु स्वाभाविक हो, तर तथ्यलाई बंग्याएर व्यक्तिगत र संस्थागत रूपमै बदनाम गर्ने जुन संगठित प्रयास भइरहेको छ, त्यो दुर्भाग्यपूर्ण छ," अर्थमन्त्री वाग्लेले भने।

अर्थमन्त्रीले बजेटमार्फत गरिएका केही कडा नीतिगत सुधार र पारदर्शी कदमहरूका कारण संकुचित स्वार्थ भएका समूहहरू अत्तालिएको र उनीहरूले नै बजारमा भ्रम छरिरहेको संकेत गरे। उनले देशको अर्थतन्त्रलाई सही दिशामा ल्याउनका लागि ल्याइएको बजेट जनमुखी र यथार्थपरक रहेको दाबी समेत दोहोर्‍याए।

अर्थ समितिमा उपस्थित अन्य सदस्यहरूले भने बजेटका व्यवस्था, करका दर र विनियोजन कुशलतामाथि अर्थमन्त्रीसँग जवाफ मागेका थिए। संसद्को गतिरोध नलम्ब्याई बजेटमाथिको अलमल चाँडो अन्त्य गरिनुपर्नेमा समिति सदस्यहरूको जोड थियो।

बुधबार २७ जेठ २०८३ ११:१६ AM मा प्रकाशित

प्रतिक्रिया