काठमाडौं । काठमाडौंको कोटेश्वरमा बिहानै जाम भएको छ । कोटेश्वर र जडीबुटी क्षेत्रमा गाडी र यात्रुको भिड छ । आउँदो शुक्रवार हुने पालिका चुनावको मतदानका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै कोटेश्वरमा चाप बढेको हो ।
सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् ।
कोटेश्वर–जडीबुटीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडी छुट्छन् । मतदानको दिन नजिकिएसँगै मतदाताहरु घर फर्किने क्रम बढेसँगै बस छुट्ने ठाउँमा भिड बढेको हो ।
कोटेश्वरसँगै नयाँ बसपार्क, कलङ्की लगायत क्षेत्रमा पनि चाप बढेको छ । गएको २४ घण्टामा आठ हजार ७ सय ८९ गाडीमार्फत ५० हजार ९ सय ३० जना काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा ४१ हजार ४ सय ९ जना यात्रु काठमाण्डौ प्रवेश गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया