×

सचिवालय बैठकमा रवि लामिछानेको ब्रिफिङ :कुलमानले दिनदिनै नयाँ-नयाँ माग राख्ने गरे, एकता जोगाउन सकिनँ

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुलमान घिसिङसँगको एकता जोगाउन नसकेको स्विकारेका छन् । आज आकस्मिक रुपमा बसेको सचिवालय बैठकमा उनले उज्यालो नेपाल पार्टीसँगको एकताको लागि हदैसम्म लचकता अपनाउँदापनि जोगाउन नसकेको बताएका हुन् ।

रविसँग हिजोमात्रै कुलमानले एक घण्टा लामो एक्लाएक्लै भेटवार्ता गरेका थिए । सो भेटमा उनले पार्टीमा आफ्नो वरियता, पार्टीको राजनीतिक सिद्धान्त, समानुपातिकतर्फ आफ्नो समूहका उम्मेदवारको सांसद हुने अधिकतम सुनिश्चित्तालगायतको विषयमा कुरा राखेका थिए । रास्वपाका नेताहरुले त कुलमानले पार्टीको नामसमेत फेर्न दबाव दिएका थिए । 

रास्वपाका  सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ-नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए । बालेन्द्र शाह र  घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नक्खु कारागारमा रहेदेखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।

कुलमानले सरकारको मन्त्री पद छोडेपछि पार्टीमा उपसभापति दिने सहमति भइसकेपछि दिनदिनै नयाँ-नयाँ माग राख्ने गरेको रविले सचिवालय बैठकमा सुनाएका थिए । 'कुलमानले प्रत्येक दिन नयाँ नयाँ कुरा ल्याउने गर्नुभयो । एउटा माग सम्पन्न गर्‍यो भोलिपल्ट अर्को माग ल्याउने काम भयो । त्यसमा पनि मेरो भाग कति, म के हुने, मेरा मान्छे कति जना कहाँ राख्ने जस्ता माग ल्याउने काम कुलमानबाट भयो,' लामिछानेले सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए, 'बालेनले केन्द्रीय समितिमा राख्ने मान्छेका नाम दिनुभयो । प्रक्रिया अगाडि बढ्यो । तर कुलमानले समानुपातिकमा नाम दिएपछि छुट्टाछुट्टै मान्छे मिलाउँ भन्ने । राम्रो मान्छे छ भने तेरोमेरो नभनी काम गरौं भन्दा भागबण्डा र पावरको कुरा मात्रै प्रधान बनाउनुभयो ।'

रविलाई पार्टी, बालेनलाई सरकार र कुलमानलाई भौतिक पूर्वाधार लगायतका कामको जिम्मेवारी तोक्ने प्रस्ताव गर्दा पनि कुलमानले नमानेको लामिछानेले ब्रिफिङ गरेका थिए । 'तीन नेतामा काम बाँडफाँटको कुरा गर्ने क्रममा रविले पार्टी सम्हाल्ने, बालेनले सरकार सम्हाल्ने सहमति भयो । कुलमानको विज्ञताअनुसारको भौतिक पूर्वाधारमा कायापलट गर्ने जिम्मेवारी तोकौं भन्दा नमान्ने । म के र कहाँ हुन्छु भन्ने कुरा गरिरहेपछि सहमति बनेन,' लामिछानेको ब्रिफिङ उल्लेख गर्दै एक सचिवालय सदस्यले भने ।

शनिबार २६ पुस २०८२ ०८:०० PM मा प्रकाशित

प्रतिक्रिया