×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् । नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वाम दल र अभियानबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । यसको घोषणा कार्तिक १९ गते गरिएको थियो ।

२- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आन्दोलनरत फुटबल खेलाडीलाई वार्तामा बोलाएको छ । ए डिभिजन लिग अर्को बर्ष गर्ने एन्फाको निर्णयविरुद्ध आन्दोलनमा रहेका खेलाडीहरुलाई एन्फाले सोमबारका लागि वार्तामा बोलाएको प्रवक्ता सुरेन्द्र शाहले जानकारी दिएका छन् ।कार्तिक १७ गते एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमतीप्रति असन्तुष्ट रहदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा भएको सडक प्रदर्शनप्रति सवेदनशिल रहदै ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरुलाई संवाद मार्फत नै सम्बोधन गर्ने मान्यता बमोजिम नेपाल फुटबल खेलाडी संघ तथा प्रतिनिधीलाई सोमबार वार्ताका लागि आव्हान गरिएको प्रवक्ता शाहले जानकारी दिएका छन् । यसअघि खेलाडीहरु गत विहिबार एन्फा कम्प्लेक्स सातदोबाटो पुगेर एन्फाको गेटमा मेडल झुण्डाउदै निर्णय सच्याउन र यसैबर्ष लिग गराउन माग गर्दै धर्ना दिएका दिएका थिए । खेलाडीहरुले एन्फालाई निर्णय सच्याउन भन्दै सात दिनको अल्टिमेटम दिएका छन् ।

३- फिलिपिन्समा आपतकाल घोषणा गरिएको छ । कालमेगी आँधीपछि अर्को आँधी फङ वोङको चेतावनी पछि सरकारले राष्ट्रिय आपतकालको घोषणा गरेको हो ।  यो नयाँ आँधीले फिलिपिन्सको दुई तिहाइ भागलाई प्रभाव पर्ने चेतावनी दिइएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आपतकाल घोषणा गरेका छन् । रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियरले आँधीले सेबु, अरोरा, इसाबेला र राजधानी मनिला लगायत देशका धेरै भागहरूमा विनाश निम्त्याउन सक्ने चेतावनी दिएका छन् । हालै आएको कालमेगी आँधीले गर्दा भएको विनाशबाट देश अझै उकास्न सकेको छैन, जसले २२४ जनाको ज्यान लिएको थियो । देशको मौसम सेवाका अनुसार, फङ वोङ आँधीले प्रतिघण्टा १८५ किलोमिटरसम्मको गतिमा हावा र मुसलधारे वर्षा ल्याउने अपेक्षा गरिएको छ । फङ वोङ आँधीलाई 'सुपर टाइफुन' नाम दिइएको छ, जसलाई स्थानीय रूपमा उवान भनिन्छ । बिकोल र उत्तरपूर्वी प्रान्तका तटीय क्षेत्रहरूबाट १० लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित रूपमा सारिएको छ । सेना र राहत एजेन्सीहरू उद्धार कार्यमा संलग्न रहेका छन् । सुरक्षा कारणले गर्दा सोमबार र मंगलबार विद्यालय र सरकारी कार्यालयहरू बन्द गर्न आदेश दिइएको छ । अहिलेसम्म ३०० भन्दा बढी घरेलु र ६० अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् । जहाजहरूलाई समुद्र छोड्न अनुमति नदिइएका कारण ६ हजारभन्दा बढी मानिसहरू बन्दरगाहहरूमा फसेको बताइएको छ । धेरै क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ, जसमा बिजुली आपूर्ति बन्द हुनु, विद्यालय र सरकारी कार्यालयहरू बन्द हुनु, र उडान रद्द हुनु समावेश छन् । फिलिपिन्समा प्रत्येक वर्ष लगभग २० वटा आँधी आउँछन् र बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट पनि हुन्छन् । यसलाई विश्वको सबैभन्दा प्रकोप-प्रवण देशहरू मध्ये एक मानिन्छ ।

४-  शिक्षामन्त्री महाबिर पुनले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन ध्यानाकर्षण गराएका छन् । आइतबार ध्यानाकर्षणसम्बन्धि सर्कुलर जारी गर्दै मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संग्लन हुने अधिकार नदिएको उल्लेख गर्दै राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषयमा ध्यानकर्षण गराएका हुन् । मन्त्री पुनले राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसंठनलाई मन्त्रालयले मान्यता नदिने समेत उल्लेख गरेका छन् । मन्त्रालयले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ संगठनहरु लागेर राजनीतिक चरित्रको स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनका लागि कानुनी प्रबन्धसहित पुनर्गठनका लागि आह्वानसमेत गरेक छन् ।

५- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आइतबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको जानकारी परिक्षा नियन्त्रण कार्यालयले दिएको छ । बोर्डले पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएकोमा ७६ हजार ३६७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् र ४ जनाको परीक्षाफल रद्द गरिएको छ । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

६- डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन् । डा. केसीले आज प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् । डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाल पनि टोलीमा थिए । प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झासमेतको उपस्थितिमा डा. केसीले उठाएका विषयमा छलफल भएको थियो ।

७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्कीको भरमा देश नचल्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सञ्चारकर्मीलाई कसैबाट धम्की आएमा युवा संघलाई खबर गर्न आग्रह गरेका हुन् । ओलीले अहिले लोकतन्त्र नभएको बेला मिडिया क्षेत्रको साथमा एमाले रहेको बताउदै ओलीले हिजो लोकतन्त्र भएको समयमा समेत आफुहरुले गलत समाचार लेख्दा पनि कारवाही नगरेको बताए । अहिले एउटा टेलिफोनको भरमा त्रासको वातावरण बनेको दाबि गर्दै उल्लेखले युवा संघलाई खबर गरेमा सुरक्षा दिने समेत बताए । देशका १६ सय भन्दा बढी संरचना जलाएर देशको अर्थतन्त्रलाई २५ बर्ष पछि धकेलिएको बताए । साथै उनले कुलमान घिसिङप्रति इंगित गर्दै केहि तत्वले विद्युत बन्द गरेर उद्योग बन्द गरेर देशको अर्थतन्त्र ध्वस्त पार्न लागेको बताए । उनले भने- 'अब देशलाई भन्न चाहन्छु, कोहि पनि नडराउनुस, सबैको सुरक्षा एमालेले गर्ने छ । देशमा अब कसैका घर, उद्योग र स्टोर जल्न दिने छैन । हामीले यस्तो अवस्था देख्यौं जनताको सुरक्षा आफैले नगर्ने हो भने सुरक्षा गर्न नसकिने रहेछ । अब जनताको सुरक्षा जनताले नै गर्नुपर्ने अवस्था आएको छ ।' देशमा शान्ति सुव्यवस्था र न्याय नभएको दाबि गर्दै मेरो घरमा आगजनी गरेको मान्छे यो हो भन्दा पनि प्रहरीले उजुरी नलिने र पक्राउ गरेकालाई छोड्ने गरेको बताए ।

८- हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।  हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औं स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल च्याम्पियनसिप श्रीलंकाले जित्यो । त्यस्तै धेरै रन बानाउने खेलाडीको सूचीमा नेपालका सन्दीप जोरा रहेका छन् । सन्दीपले कुल ५ खेलमा १७६ रन बनाएका छन् ।  सन्दीपले ५ खेलमा २३ छक्का र ७ चौका प्रहार गरेका छन् । त्यस्तै धेरै विकेट लिने खेलाडी खेलाडीको सूचीमा नेपालका रशिद खानले ९ विकेट लिएर शिर्ष स्थानमा छन् । रशिदले अफगानिस्तानविरुद्ध प्रतियोगिताको एक मात्र ह्याट्रिक समेत लिएका थिए ।

९-  नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२३ कम्पनिका एक करोड ६ लाख १९ हजार १८० कित्ता शेयर ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३२८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज दारम खोला हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने माबिलुंग इनर्जी र सगर डिस्टिलरीको ९.९८ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको २३ करोड ५३ लाख बराबर कारोबार भएको छ ।

१०- पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको कुवेत ५.१ ओभरमा अल आउट हुदै ९२ रन बनाएको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो ।  पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेकोयो छैटौं पटक हो । यसका साथै पाकिस्तान सबैभन्दा बढी पटक यो उपाधि जित्ने देश बनेको छ । पछिल्लो पटक पाकिस्तानले २०११ मा यो उपाधि जितेको थियो । पाकिस्तानपछि इङल्याण्ड र दक्षिण अफ्रिकाले ५-५ यो उपाधि जितेका छन् भने श्रीलंकाले २ पटक यो उपाधि जितेको छ । त्यस्तै भारत अस्ट्रेलिया र वेस्ट इन्डिजले एक एक पटक यो उपाधि जितेका छन् ।

११- सामाजिक अभियन्ता ई: ले सुकुम्बासी समस्यालाई मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरले सरकारी जग्गामा रहेका सुकुम्बासीलाई दिएको सात दिने अल्टिमेटम सकिएपछि उनीहरुलाई हटाउने तयारी गरिरहेका बेला सामाजिक सञ्जालमा लेख्दै अभियन्ता ई: ले भूमि आयोगले दिएको स्पष्ट कार्यादिशा अनुसार हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर मानवतालाई केन्द्रमा राखेर सुकम्बसी समस्या समाधान गर्नुपर्ने बताएका हुन् । उनले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै सक्काउने ? प्रश्न समेत गरेका छन् ।  उनले भनेका छन्: सुकुमबासी समस्यालाई सक्काउने कि सुकुमबासीलाई नै सक्काउने? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने ? लोकरिझ्याईँबाद संस्थागत भएको फासीबाद उन्मुख वर्तमान राजनीतिक परीपेक्षमा उक्त विषयबारे धारणा पपु;लिष्ट, अपरचुनिष्ट र न्यायपक्षधर व्यक्ति, विशेष गरी नवयुवा, छुट्टयाउने अचुक लिटमस टेस्ट बनेको छ । न्यायसम्यता उन्मुख लोकतान्त्रिक मूल्यमान्यता र संस्था बलियो रहेसम्म एउटा विवेकसम्मत, न्यायसङ्गत नागरिक धारणाको ओज, पचासवटा हावा जता बग्यो त्यतै जाने गुञ्जनभन्दा भारी हुन्छ । भूमि आयोगले स्पष्ट कार्यादिशा दिएको छ । हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याउ । विस्थापन होइन मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर । काठमाडौँमा स्थापित मानक स्वतः देशैभरी स्थापित हुने यथार्थले गर्दानै यहाँ जे हुन्छ त्यसमा न्यायिक दृष्टिकोण स्थापित गर्न महत्त्वपूर्ण छ। सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ ।

१२-काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन- 'जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।'  वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनेकी छन्- 'महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’ यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । सामान्य राजनीतिक चेत भएको जोकसैले पनि चुनाव उन्मुख र जटिलताले भरिपूर्ण राजनीतिक वातावरणमा सुरक्षास्थिति खलबलाउने कार्यलाई प्रोत्साहन गर्नसक्दैन। 'सरकारको अति' विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा समाजका सीमान्तकृत तप्का माथि अन्याय गरिए त्यो बलिदान दिएकाहरू प्रतिनै अन्याय हुनेछ ।

१३- काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदुषणको स्तर अत्याधिक रुपमा बढ्ने गरेको छ । प्रदुषण बढ्नमा यसरी खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा छ । विभागका प्रमुख सरिता राई भन्छिन- 'जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।'  वायु प्रदुषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्छ । ती व्यक्तिहरुसँगै सहरबासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रुपमा बस्तु बालेर धुँवा उत्सर्जन घटाउनुपर्छ । राईले भनेकी छन्- 'महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।’ यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।

१४- उर्जामन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे भ्रम फैलाइएको आरोप लगाएका छन् । भारतसँग भएको सम्झौतामा अनियमितता भएको प्रश्न उठिरहेका बेला मन्त्री घिसिङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभएर राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको दाबि गरेका छन् । उनले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेको बताउदै हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्ने र १० रूपैया सम्मको महंगो विद्युत आयात गर्र्नु पर्ने वाध्यता हटेको बताएका छन् । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम रहेको उनको दाबि छ । उनले भनेका छन्:  आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु — यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो । नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले बर्षायाममा निर्यात र सुख्खायाममा केही परिमाणमा आयात आवश्यक  छ । हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विधुत नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यास वमोजिम विद्युत खरिदको निर्णय गरेका छौं, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रूपैया सम्मको महंगो विधुत आयात गर्र्नु पर्ने वाध्यता हटेको छ । यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानु पर्ने र विद्युत नपाउने जोखिम थियो । यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो । भ्रममा नपरौं ।

१५- नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको ९० दिन भित्र गर्न बाध्यात्मक रहेको बताएका छन् ।  सामाजिक सञ्जालमा कांग्रेसमा अहिले महाधिवेशन बारे देखिएको विवाद बारे आफ्नो धारणा राख्दै महामन्त्री शर्माले काँग्रेसको विधानको व्यवस्था सम्झाएका हुन् ।  उनले नियमित महाधिवेशन पुस, माघ, बैशाख या त्यो भन्दा अघि पछि गर्न विधानले बाधा नगर्ने बताउदै विशेष महाधिवेशनको माग भएको अवस्थामा ९० दिन भित्र अनिवार्य गर्न बाध्यात्मक अवस्था रहेको बताएका छन् ।  उनले भनेका छन्- 'नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली काँग्रेसको बिधानले बाधा गर्दैन । तर…तर बिशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७(२) को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ ।'  कांग्रेसको विधानको दफा १७(२) मा भनिएको छ- 'केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ ।' उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न भएको बताउदै बिशेष महाधिवेशनको मागलाई बिशेष महाधिवेशनको आयोजनाले र त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्न सक्ने धारणा राखेका छन् ।  उनले यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी रहेको बताएका छन् ।

१६- नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबर छापावाल सुनको मुल्य तोलाको २ सयले बढेर तोलाको २ लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३०२० मा कारोबार भएको थियो ।

१७-  मेडिकल व्यवसायी दुर्गा प्रसाईले सुकम्बासी बस्ति हटाउन आएमा उनीहरुको घरमा गएर आक्रमण गर्न उक्साएका छन् । जडिबुटीको मनोहरास्थित सुकुम्बासी बस्ति पुगेर प्रसाईले आफ्नो घर भत्काउन आएमा जाइलाग्न आग्रह गरेका हुन् । उनले आफु सुकुम्बासीलाई बचाउन आएको भन्दै अतिक्रमित सरकारी जग्गा खाली गर्ने काठमाडौँ महानगरको अभियानको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले, माओवादीले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गरेको भन्दै बालेनले पनि स्ट्याटस लेखेर गरिबलाई नलखेट्न आग्रह गरे । बालेनले दुई लाख परिवारलाई लखेटेको आरोप लागाउदै काठमाडौँको व्यवसाय चौपट भएको आरोप लगाए । उनले महानगरसँग बजेट छ शहर राम्रो बनाउने हो भने घर बनाउन बालेनलाई सल्लाह दिए । प्रसाईले बालेनले मकै पोलेर खानेलाई पनि बिचल्लीमा पारेको आरोप समेत लगाए । उनले मङ्सिर ७ गते देखि सुरु हुने आफ्नो अभियानमा समर्थन गर्न समेत आह्वान गरे । सुकुम्बासी बस्ती खाली गर्न महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले दिएको एक हप्ताको अल्टिमेटम शुक्रबार सकिएको छ । अल्टिमेटम सकिएसँगै आजदेखि बस्ती खाली गराउने महानगरको योजना छ ।

१८- अमेरिका बन्दका कारण एयरलाइन्सहरूलाई ट्राफिक कम गर्न निर्देशन दिइएपछि १४ सयभन्दा बढी उडानहरू रद्द गरिएको छ । फ्लाइट ट्र्याकर फ्लाइटअवेयरका अनुसार, रद्दका साथै लगभग ६ हजार उडानहरू पनि ढिलाइ भएक छन् । यो संख्या शुक्रबार ढिलाइ भएका ७ हजार उडानहरू भन्दा कम हो । संघीय उड्डयन प्रशासनले यस हप्ता हवाई ट्राफिक नियन्त्रकहरूले तलब बिना काम गर्ने कारणले गर्दा राष्ट्रका ४० व्यस्त विमानस्थलहरूमा हवाई यात्रा क्षमता १० प्रतिशतले घटाउने बताइएको छ । नियन्त्रकको अभावले उडानहरूलाई उल्लेखनीय रूपमा असर गरेको छ । हवाई ट्राफिक नियन्त्रकहरूले या त बिरामी बिदा लिइरहेका छन् वा अन्यत्र काम गरिरहेका छन् । अमेरिकी संसदको हाउस अफ कंग्रेसमा रिपब्लिकन र डेमोक्र्याटहरू अझै पनि बजेट पारित हुन सकेको छैन र यस वर्षको अक्टोबर १ मा सुरु भएको बन्द जारी छ ।

१९- क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् । भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए । ३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए । उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।

२०- अफगानिस्तान र पाकिस्तानबीच टर्कीमा भएको वार्ता असफल भएको छ । तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमा सार्ने प्रयास गरेको बताएको छ । अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।' जबिहुल्लाह मुजाहिदले भनेका छन्- 'कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशको विरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो क्षेत्रबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षा विरुद्ध कार्यहरू गर्न वा समर्थन गर्न दिइनेछ ।' उनले वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गरेको छ, जबकि अफगानिस्तानको सुरक्षा वा शान्तिको लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुक छैन । मुजाहिदले भने- 'पाकिस्तानका जनता अफगान जनताका दाजुभाइ हुन्। अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिको लागि प्रार्थना गर्दछ र आफ्नो क्षमता र जिम्मेवारीले भ्याएसम्म उनीहरूसँग सहयोग गरिरहनेछ ।' उनले अफगान जनताको सुरक्षा गर्नु अफगान तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी भएको भन्दै कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिने बताएका छन् ।

आइतबार​ २४ कात्तिक २०८२ ०८:०१ PM मा प्रकाशित

प्रतिक्रिया