×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको छ । आयोगले फौजदारी कसूरमा संलग्न जोकोहीलाई सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपालको कानुनले अख्तियार प्रदान गरेको स्पष्ट गर्दै आयोगले  प्राप्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाएको हो । जाँचबुझ आयोगलाई २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुको कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझावसहितको प्रतिवेदन पेस गर्ने र भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा राय दिने कार्यदेश पाएको आयोगले उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा ओली र लेखकलाई कारवाही गर्न जाहेरी परेको थियो भने अनेरास्ववियुले बालेन शाह र सुदन गुरुङलाई कारवाही गर्न जाहेरी दिएका थिए । 

२- नेपालले अमेरिकाका राष्ट्रपतिले प्रस्ताव गरेको ‘मध्य पूर्व शान्ति योजना’ को पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेको हो । मन्त्रालयले ७ अक्टोबर २०२३ देखि हमासद्वारा हिरासतमा रहेका नेपाली नागरिक बिपिन जोशी लगायत सबै बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान समेत गरेको छ । मन्त्रालयले भनेको छ- हामी सम्बन्धित सबै पक्षहरूलाई योजनालाई यसको वास्तविक भावनामा कार्यान्वयन गर्न, गाजाका जनतालाई मानवीय सहयोगको सहज प्रवाह सुनिश्चित गर्न र क्षेत्र र बाहिर दिगो शान्तिको मार्ग प्रशस्त गर्न आग्रह गर्दछौं ।' साथै नेपालले बहुप्रतिक्षित सम्झौता सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिका, कतार, इजिप्ट र टर्किएको प्रशंसा गरेको छ ।

३- नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा छलफल भएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा केहि भिन्नताहरु रहेको र यसलाई छलफल गरेरै व्यावहारिक रुपमा नै समान सोच बनाएर अगाडी बढ्ने बताए । अहिलेको घटनाले राष्ट्रिय र पार्टीको अगाडी खडा भएको चुनौतीको कसरी सामना गर्ने, लोकतान्त्रिक पद्धतिमा देशलाई कसरी ल्याउने भन्ने विषयमा पदाधिकारीहरुले धाराणा राखिरहेको बताए । उनले बैठक भोली पनि बस्ने उनले बताए । महत्तले असोज २६ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा साझा धारणा बनाएर जाने विषयमा छलफल भएको उनले बताए  । उनले बैठकमा अहिले विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । साथै जेनजी आन्दोलनका क्रममा पार्टीका नेतामाथि भएको आक्रमण र राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड र आगजनी गर्नेहरुमाथि तत्काल कारवाही गर्न कांग्रेसले माग गरेको उनले बताए । साथै उनले गृहमन्त्रालयले नै तोडफोड र आगजनीमा संलग्नलाई नै कारवाही नगर भन्ने अभिव्यक्तिले देशमा थप अशान्ति बढ्ने र निर्वाचन हुनेमा संसय हुने प्रवक्ता महतले बताए । आजको बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नभएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो । प्रवक्ता महतले असोज २६ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति देउवा सहभागी हुने समेत जानकारी दिएका छन् ।

४- नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको छ । आजको बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ भने हालैको बाढी पहिरोको इपिसेन्टर रहेको इलामलाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

५- यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लो क्रास्ज्नाहोर्काईलाई प्रदान गरिएको छ । विहिबार स्विडिश एकेडेमीले उनका कृतिहरू गहिरो प्रभावशाली र दूरदर्शी भएको बताउदै संसारमा विनाश र डरको बीचमा पनि उनले कलाको शक्ति प्रदर्शन गरेको बताएको छ । लास्ज्लो क्रास्ज्नाहोर्काईले गहिरो विचारोत्तेजक, उदास कथाहरू लेख्छन् । उनका पुस्तकहरू 'स्याटान्टाङ्गोस' र 'द मेलान्कोली अफ रेजिस्टेन्स' लाई फिल्ममा रूपान्तरण गरिएको छ । गत बर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखिका हान काङलाई प्रदान गरिएको थियो ।  विजेताले १ करोड १० लाख स्विडिश क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारहरू डिसेम्बर १० मा स्टकहोममा दिइने छ ।

६- दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट कारोबार रोकिएको नेप्से त्यसपछि भने घटेको थियो । राष्ट्रबैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाउने र बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । आज ३१३ कम्पनिका एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर ५ अर्ब २७  करोड ३२ लाख २१ हजार ४७९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर बढेको छ ।   आज बिन्धाबासिनी हाइड्रोको सेयर सबैभन्दा बढी ८.२१ प्रतिशतले बढ्यो भने एशियन हाइड्रोको शेयर ५.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.०९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २७ करोड ३४ लाख र युनियन हाइड्रोको २७ करोड १२ लाख बराबरको कारोबार भएको छ ।

७- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणको अन्तिम चरणमा पुगेको किर्तिपुरस्थित क्रिकेट रंगशालाको अनुगमन पुगेका छन् । विहिबार टियु क्रिकेट मैदान पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरुले निर्माणमा भएको प्रगति र अगामी योजना बारे ब्रिफिङ गरेका थिए । अनुगमनका क्रममा घिसीङले अहिले १०-१२ हजार दर्शक बस्ने स्थान निर्माण सम्पन्न भएको र फ्लड लाइट एक महिनामा सकिने जानकारी दिदै यस रंगशालाको अन्य निर्माणका काम पनि एकै पटक अगाडी बढाउने बताए । यो रंगशाला देशकै प्रतिष्ठाको विषय भएको भन्दै बजेट सुनिस्चित गरेर यसको बाँकी निर्माण पनि छिटो गर्ने बताएका छन् ।

८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने बताएका छन् । एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसद पुनर्स्थापना गरेर जाने मात्र सहि विकल्प भएको र यसमा नेपाली कांग्रेस र एमाले यसै अनुसार अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूसँग छलफल हुदा संबिधान नमास्ने र संसद विघटन नगर्ने भन्ने सहमति भएको तर पछि संबिधान मिचेर सरकार बनाइएको र संसद विघटन गरिएको आरोप लगाए । ओलीले आफुले सामाजिक सञ्जाल कम्पनिले नेपालको नियम अनुसार कर तिर्नुपर्ने अडान लिएको बताउदै देशमा साग बेच्नेले कर तिर्नुपर्ने तर सामाजिक सञ्जाल चलाएर कमाउनेले तिर्नुनपर्ने भन्दै प्रश्न गरेका छन् ।

९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको भदौं २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोग नमान्ने बताएका हुन् । एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आयोगलाई नक्कली भन्दै आयोगलाई एमालेलाई मान्य नरहेको बताएका हुन् । उनले यसअघि नै ओलीलाई कारवाही गर्नुपर्छ र जेल हाल्नुपर्छ भन्ने व्यक्तिलाई नै अध्यक्ष बनाएर आयोग बनाएको र सोहि आयोगको प्रतिवेदन अनुसार अगाडी बढ्छौं भनेको भन्दै यो आयोग नमान्ने बताएका छन् । ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि यो अपराध क्षम्य नहुने बताएका हुन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए । ओलीले माओवादी केन्द्र, रास्वपा र राप्रपाले पर्दा पछाडी बसेर पेट्रोल हानेको आग्रह गर्दै जेनजीले कहिल्लै पेट्रोल नहान्ने दाबी गरे ।

१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ । अख्तियारले प्रतिष्ठानमा एमआरआई खरिदका क्रममा ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विहिबार विशेष अदालत काठमाडौँमा मुद्धा गरेको जनाएको छ । अख्तियारले एमआरआई खरिदमा हालसम्म ९ करोड १९ लाख ५३ हजार ७४२ भुक्तानी गरेको भन्दै सोहि बमोजिमको बिगो दाबि गर्दै मुद्धा दायर गरिएको जनाएको छ । प्रतिष्ठानमा एमआरआई खरिदमा १२ करोड ७ लाख ६० हजार ९४६ देखाइएकोमा खरिदको लागि ११ लाख ४५ हजार कबोल गरिएको देखिएकाले ६२ लाख ६० हजार रकम आर्थिक भार पुर्याएको आरोप लगाएको छ । मुद्धा दायर गरिएकाहरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाश प्रसाद देव, प्रतिष्ठानका बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज, काठमाडौँका बायोमेडिकल ईन्जिनियर अमित कुमार चौधरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, प्रतिष्ठानका शाखा अधिकृत छायाँ डि.सी., शाखा अधिकृत श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोष्ट राज ज्ञवाली रहेका छन् ।

११- शिक्षामन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),   शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रको अवलोकन गर्दै विभिन्न निर्देशन दिएका छन् । मन्त्री पुनले नास्टले ३७ करोड बजेटमा २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको भन्दै नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव दिन निर्देशन दिएको बताएका छन् । नास्टमा २ घण्टासम्म छलफल र ल्यावहरु अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यहि हप्ता भित्र दिन निर्देशन दिएको छु । भवन र ल्यावहरु उच्च कोटीका छन् । भवन र ल्याव अनुसारको उच्चकोटीको काम  हुनु पर्ने कुरामा जोड दिए । शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो । शिक्षकहरुको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरु मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भर लागु हुने गरी कार्यविधी बनाउने, अनलाईन सिकाईको लागि डिजिटल शैक्षिक सामाग्रीहरु निर्माणमा जोड दिन कार्यक्रम बनाउने । पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो । सामुदायिक र संस्थागत विद्यालयहरुको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको बिकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, सम्बिधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु । आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको छु ।

१२- नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले केपी ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् । एमाले भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले ओलीलाई पक्राउ गरे देशभर आगो बाल्ने चेतावनी दिएका हुन् । नेता बस्नेतले विदेशीका खेताला बनेर, शार्प सुटर ल्याएर कलिला बालबालिकाको हत्या गरिएको र यसका मुख्य्मात्र बालेन शाह र सुदन गुरुङ भएको भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने बताए । साथै बस्नेतले असोज २५ गते काठमाडौँको तीनकुनेमा युवासंघले मोटरसाइकल र्याली गर्न लागेको जानकारी दिदै एमाले के हो भन्ने तागत देखाउने बताए ।नेता बस्नेतले बालेन शाह पक्षका सामाजिक सञ्जाल पेजहरुले केपी ओली र महेश बस्नेतलाई पक्राउ गर्न अभियान चलाएको आरोप लगाउदै आफुहरु पंचायतसँग लागेको पंक्ति भएकोले आफुहरु नडराउने बताए ।

१३- भारतको मध्यप्रदेश प्रहरीले चेन्नईस्थित श्रीसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ । कम्पनीमाथि कोल्ड्रिफ नामक दूषित कफ सिरप उत्पादन गरेको आरोप छ, जसले राज्यमा कम्तिमा २० बालबालिकाको मृत्यु भएको थियो । श्रीसन फार्माका मालिक एस. रंगनाथनलाई पक्राउ गरिएको र उनको चेन्नईमा मेडिकल जाँच र थप प्रक्रियाहरू गरेर उनलाई छिन्दवाडा ल्याइने मध्यप्रदेश ल्याइने बताइएको छ । छिन्दवाडामा कफ सिरप सेवन गरेपछि र त्यसपछि मिर्गौला फेल भएपछि भएका बालबालिकाको मृत्युको अनुसन्धान गर्न अक्टोबर ५ मा १२ सदस्यीय विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो । सेप्टेम्बर ७ देखि परासियामा धेरै बालबालिकाको मृत्यु भइरहेको थियो । छ बालबालिकाको मृत्युपछि प्रशासनले कारबाही शुरु गरेको थियो र सेप्टेम्बर २३ मा अधिकारीहरूले मृत्युको अनुसन्धान सुरु गरेका थिए । अनुसन्धानले खोकी सिरप सेवन गरेपछि बालबालिकाको मृगौला फेल भएर मृत्यु भइरहेको पत्ता लगाएको छ । यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लामा रहेको श्रीसन फार्मास्युटिकल्सद्वारा उत्पादन गरिएको थियो । यो छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो । तमिलनाडु औषधि नियन्त्रण विभागको एक रिपोर्टले यस कम्पनीको सिरपको एक ब्याचमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल फेला पारेको छ । यो त्यही 'विषाक्त' रसायन हो जसले पहिले गाम्बिया, उज्बेकिस्तान र भारतमा बालबालिकाको मृत्यु गराएको छ । यो रिपोर्ट पछि, मध्य प्रदेश औषधि नियन्त्रण विभागले अक्टोबर ४ मा खोकीको सिरपमा प्रतिबन्ध लगाएको थियो । प्रहरीले सरकारी डाक्टर प्रवीण सोनी, खोकीको सिरप बनाउने कम्पनी श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य विरुद्ध पनि एफआईआर दर्ता गरेको छ ।

१४- काठमाडौंको माइतीघरबाट प्रहरीले डा. निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका लागि बिहीबार माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउने अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट केहि युवकलाई पक्राउ गरेको थियो । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस अघि आज गर्ने भनिएको जेनजीको एक समुहको प्रदर्शन भने अन्तिम समयमा बुधबार स्थगित गरिएको थियो । स्थगित गरिएको भनिए पनि केहि युवाहरु प्रदर्शन गर्न माइतीघर पुगिरहेका छन् ।

१५- दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्वार गरिएको छ । उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । उनीहरुलाई असोज २३ गते बिहान करीव १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको छ ।

१६- नेपाली बजारमा आजपनि सुनको मुल्य बढेको छ र अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ३९ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर ३०२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २९५५ मा कारोबार भएको थियो ।

१७-  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक मुक्ति सम्झौताको घोषणाको स्वागत गरेका छन् । एन्टोनियो गुटेरेसले अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्दै सम्बन्धित सबै पक्षहरूलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन् । महासचिव  गुटेरेसले भनेका छन्- 'सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ । स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ। लडाइँ एक पटक र सधैंको लागि समाप्त हुनुपर्छ ।' उनले गाजामा तत्काल मानवीय सहायताको लागि अपील गरेका छन् र राष्ट्र संघले यो सम्झौताको कार्यान्वयनलाई पूर्ण समर्थन गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेसँगै गाजामा दुई बर्षदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

१८-  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा शान्ति सम्झौताको पहिलो चरणमा हमास र इजरायलबीच भएको सम्झौतालाई 'इजरायलको लागि ठूलो दिन' भएको टिप्पणी गरेका छन् । नेतान्याहूले सम्झौतालाई अनुमोदन गर्न र इजरायली बन्धकहरूलाई घर फिर्ता ल्याउन सरकारको बैठक बोलाउने बताए । उनले भनेका छन्- 'योजनाको पहिलो चरणको अनुमोदनसँगै, हाम्रा सबै बन्धकहरूलाई घर ल्याइनेछ । यो कूटनीतिक सफलता र इजरायलको लागि राष्ट्रिय र नैतिक विजय हो । हाम्रा साथी, राष्ट्रपति ट्रम्पको अथक प्रयासका कारण हामी यो महत्वपूर्ण मोडमा पुगेका छौं ।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै नेतान्याहूले भनेका छन्- 'म राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षा र हाम्रा बन्धकहरूको स्वतन्त्रताप्रतिको अटल प्रतिबद्धताको लागि धन्यवाद दिन्छु ।' यस अघि गएराती इजरायल र हमासबीच ट्रम्पको शान्ति योजनाको प्रस्तावमा पहिलो चरणमा हस्ताक्षर गरेका थिए । पहिलो चरणमा हस्ताक्षर गरेपछि अब सबै बन्धकहरूलाई चाँडै रिहा गरिने  र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् ।

१९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले अमेरिकी गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन् । ट्रम्पले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गर्दै यसको अर्थ सबै बन्धकहरूलाई चाँडै रिहा गरिने  र इजरायलले सहमति भएको सीमामा आफ्ना सेना फिर्ता बोलाउने बताएका छन् । उनले भनेका छन्- 'यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ । सबै पक्षहरूसँग निष्पक्ष व्यवहार गरिनेछ । यो अरब र मुस्लिम संसारको लागि, इजरायलको लागि, यसका सबै छिमेकीहरूको लागि र संयुक्त राज्य अमेरिकाको लागि एक महत्त्वपूर्ण र ऐतिहासिक दिन हो ।' ट्रम्पले यस विषयमा मध्यस्थताको लागि कतार, इजिप्ट र टर्कीलाई धन्यवाद दिएका छन् ।

२०- अस्ट्रेलियाले जारी महिला क्रिकेट विश्वकपमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २२२ रनको लक्ष्य पछाएको पाकिस्तानले ३६.३ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएपछि खेल १०७ रनले हारेको हो । यसअघि पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो । ११५ रन बनाउदा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि नवौं विकेटका लागि बेथ मूनी र अलाना किंगले १०६ रनको कीर्तिमानी साझेदारी गर्दै अस्ट्रेलियालाई सम्मानजनक रुपमा पुर्याएका थिए । यो जितपछि अस्ट्रेलियाको ३ खेलमा ५ अंक भएको छ र हाल शिर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानले भने लगातार तेस्रो हार बेहोरेको छ ।

 

बिहीबार २३ असोज २०८२ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया