×

निर्वाचनको तयारी बारे राष्ट्रपति पौडेललाई आयोगको ब्रिफिङ

images

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई फागुन २१ गने सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी बारे जानकारी गराएको छ ।

विहिबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले राष्ट्रपति पौडेललाई निर्वाचनको तयारीको अवस्था र निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन गर्नुपर्ने भावी कार्यक्रमहरूको जानकारी गराएको आयोगका प्रवक्ता नारायाण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगले राष्ट्रपति पौडेललाई प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्तिको सम्बन्धमा प्रधानमन्त्री सुशिला कार्की तथा सम्बन्धित विभागीय मन्त्रीहरूसँग छलफल गरेको, मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोत साधन र जनशक्ति प्राप्‍त हुने तथा निर्वाचनमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्‍त भएको, निर्वाचनको पूर्वतयारीका लागि आयोगका आन्तरिक प्रशासनीक विषयहरूलाई समेटेर तयार गरिएको कार्ययोजना बमोजिमका कार्यहरू योजनाबद्ध रूपमा सम्पादन गरिरहेको र निकट भविष्यमा राजनीतिक दलहरू तथा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको तथा संशोधित मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावलीमा नाम दर्ताको काम सुचारु रहेको लगायतका विषयमा जानकारी गराएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले आयोगलाई निर्वाचनमा सबै नागरिकहरूको सहभागिता हुने वातावरण तयार गर्न,  राजनीतिक दल तथा सरोकारवालाहरूसँग तत्काल छलफल अघि बढाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने कार्यको सुनिश्चितताका लागि कार्यतालिका बमोजिमका कार्यहरू समयमै सम्पन्न गर्न निर्देशन दिएको आयोगले जनाएको छ । 

निर्वाचन आयोगले स्वीकृत गरेको कार्ययोजना बमोजिम आगामी दिनमा सम्पन्न गर्नुपर्ने निर्वाचन आचार संहिता निर्धारण तथा कार्यान्वयन, उम्मेदवारको मनोनयन दर्ता, सो उपर छानवीन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान लगायतका निर्वाचन कार्यक्रमहरू राजनीतिक दल र सरोकारवालाहरूसँगको परामर्शमा तयार गरिने जानकारी गराएको छ भने निर्वाचनको पूर्वतयारीका सबै कार्यक्रमहरू समयमा नै सम्पन्न हुने विश्वास दिलाएको प्रवक्ता भट्टराईले बताएका छन् ।

सो अवसरमा निर्वाचन आयुक्तद्वय डा.जानकी कुमारी तुलाधर र सगुन शम्‍शेर ज.ब.रा. तथा आयोगका सचिव माहादेव पन्थ तथा राष्ट्रपति पौडेलका विज्ञ सल्लाहकारहरू तथा राष्ट्रपति कार्यालयका सचिव डा. दिपक काफ्लेको उपस्थिती रहेको थियो ।

 

बिहीबार २३ असोज २०८२ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया