काठमाडौँ । नेपाली सेनाले जेनजी आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको बताउदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको छ ।
नेपाली सेनाले नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सेनाको विज्ञप्ति:
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको छ । नेपालमा हाल भइरहेको "जेनजी" आन्दोलनका विकसित घटनाक्रमहरु बारे नेपाली सेनाले विश्लेषण गरिरहेको छ ।
यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते विरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।
नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।
प्रतिक्रिया