×

युवाको जायज असन्तुष्टिलाई हिंसा र लुटपाटमा बदलियो, निष्पक्ष छानबिन होस्: प्रचण्ड

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले ऐतिहासिक 'जेनजी' (Gen-Z) आन्दोलनका क्रममा भएका दमन, हिंसा, लुटपाट र विध्वंशका घटनाबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्।

जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आज एक विशेष प्रेस वक्तव्य जारी गर्दै संयोजक प्रचण्डले उक्त माग गरेका हुन्। उनले आन्दोलनको पवित्र मूल भावना र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै डालोमा राखेर हेर्न नहुने स्पष्ट पारेका छन्।

संयोजक प्रचण्डले जारी गरेको प्रेस वक्तव्यमा युवा पुस्ताको न्यायोचित विद्रोहलाई बदनाम गराउन केही तत्वहरूले योजनाबद्ध रूपमा हिंसा भड्काएको दाबी गरिएको छ। युवाहरूले देशमा सुशासन, रोजगार र प्रणाली परिवर्तनका लागि गरेको शान्तिपूर्ण आन्दोलन जायज भए पनि त्यसलाई अराजकता र लुटपाटमा परिणत गर्ने नियोजित कार्य भएको उनको ठहर छ।

प्रचण्डले गत वर्षको २४ भदौमा राजधानीका अति संवेदनशील क्षेत्रहरूमा भएको तोडफोड र आगजनीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’ को रूपमा चित्रित गरेका छन्। सो दिन आक्रोशित भीडबाट देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत र राष्ट्रिय अभिलेखालय जस्ता राज्यका मुख्य आधारस्तम्भहरूमाथि आक्रमण भएको थियो।

यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, राजनीतिक दलका कार्यालय लगायत सार्वजनिक तथा निजी सम्पत्तिमा व्यापक आगजनी र विध्वंश मच्चाइएको थियो। वक्तव्यमा भनिएको छ, "राज्यका ऐतिहासिक धरोहर र नागरिकको सम्पत्तिमाथि भएको त्यो स्तरको क्षति लोकतान्त्रिक मूल्यमान्यता विपरीत छ।"

आन्दोलनको एक वर्ष पुग्दा पनि घटनाको वास्तविक सत्यतथ्य बाहिर नआएको भन्दै प्रचण्डले सरकारसँग उच्चस्तरीय र स्वतन्त्र छानबिनको माग गरेका हुन्। युवाहरूको वास्तविक र न्यायपूर्ण आवाजलाई दबाउन राज्यले गरेको दमन र आन्दोलनभित्र छिरेर अराजकता फैलाउने घुसपैठिया दुवै पक्षको गम्भीर अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

"दोषी कोही पनि उम्किनु हुँदैन र निर्दोष युवाहरूलाई आन्दोलनको नाममा फसाइनु हुँदैन," प्रचण्डले वक्तव्यमार्फत जोड दिएका छन्। उनले जेनजी पुस्ताको भावनालाई सम्बोधन गर्दै देशलाई सही दिशा दिनु नै राज्यको वास्तविक जिम्मेवारी भएको उल्लेख गरेका छन्।


बुधबार २४ भदौ २०८३ १०:११ AM मा प्रकाशित

प्रतिक्रिया