काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालमन्दिरको कोष दुरूपयोग र आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीका एक उच्च अधिकृतका अनुसार अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको भए पनि हाल उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । पक्राउ पर्नेहरूमा बालमन्दिरको कार्यसमितिका सदस्य र सचिव तहका पदाधिकारीहरू रहेको बुझिएको छ ।
पक्राउ परेका आरोपीहरूमाथि बालमन्दिरमा रहेका अनाथ तथा असहाय बालबालिकाको भरणपोषण, संरक्षण र शिक्षादीक्षाका लागि प्राप्त भएको रकम व्यक्तिगत लाभका लागि हिनामिना गरेको गम्भीर आरोप छ । उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदनले औंल्याएका कैफियत र सिफारिसका आधारमा प्रहरीले यो कदम चालेको हो ।
समितिको प्रतिवेदनमा बाल सङ्गठनको सम्पत्ति र कोषमा व्यापक अनियमितता भएको उल्लेख गरिएपछि सीआईबीले यसमा गम्भीरतापूर्वक ढोका खोलेर अनुसन्धान अघि बढाएको थियो ।
बालमन्दिरको जग्गा विवाद पहिले देखि नै चर्चामा रहँदै आएको छ । यसअघि नक्सालस्थित नेपाल बाल सङ्गठनको बहुमूल्य जग्गा अत्यन्तै सस्तो मूल्यमा ७९ वर्षसम्मका लागि (वि.सं. २१३२ सम्म) वृहस्पति विद्या सदनलाई भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले अनुसन्धान गरी मुद्दा चलाइसकेको छ ।
सो जग्गा प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान भएको थियो । पूर्व पदाधिकारीहरूले मासिक मात्र ९ लाख रुपैयाँ भाडा तोकेर सम्झौता गरेको भेटिएपछि बाल सङ्गठन सञ्चालक समितिको बैठकले उक्त पुरानो सम्झौता रद्द गर्ने निर्णय समेत गरिसकेको छ ।
जग्गा लिज प्रकरणको विवाद नसकिँदै बालबालिकाकै नाममा आएको नगद रकम र कोषसमेत हिनामिना भएको तथ्य बाहिर आउनु र पदाधिकारीहरू पक्राउ पर्नुले संस्थाभित्रको बेथिति कति गहिरो छ भन्ने कुरा प्रष्ट पार्छ । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर बैंकिङ विवरण, आन्तरिक लेखापरीक्षण (अडिट) रिपोर्ट र प्रशासनिक निर्णयहरूमाथि सीआईबीले सूक्ष्म अध्ययन गरिरहेको छ । यस हिनामिना प्रकरणमा अन्य उच्चपदस्थ व्यक्तिहरू वा पूर्व पदाधिकारीहरूको समेत मिलेमतो हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।
प्रतिक्रिया