×

शेयर बजारमा सुरुवातमै तीव्र उछाल, लाग्यो सर्किट ब्रेक

images

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो।

सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ। नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ।  यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो ।  सो अंकको वृद्धिपछि नेप्से २८२१ अंकमा कायम भएको छ । पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन्। यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ । नेप्सेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार २० मिनेटपछि बजार पुनः खुल्नेछ।

सोमबार २५ फागुन २०८२ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया