×

गोवाको नाइट क्लबमा भीषण आगलागी हुँदा ४ नेपालीको मृत्यु

images

काठमाडौँ । गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५  जनाको मृत्यु भएको छ ।  प्रहरीको शंकाअनुसार आगो सिलिन्डर विस्फोटका कारण लागेको हो । उत्तर गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा भएको घटनामा केही पर्यटक पनि परेका छन् । ज्यान गुमाउने अधिकांश व्यक्ति क्लबका कर्मचारी रहेको बताइएको छ ।  सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घटनामा मृत्यु हुने २१ जना क्लबका कर्मचारी हुन् भने उनीहरूमध्ये चार जना नेपालका नागरिक भएको गोवा सरकारले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकहरूमध्ये अधिकांश नाइट क्लबका भान्से कर्मचारी रहेको बताएका छन् । मृत्यु हुनेहरूमा तीन महिला छन् ।  नाइट क्लबमा धेरैजसो मानिस भुइँतलामा र भान्सातिरै थुनिएर ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसास्एिर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटना सम्बन्धी प्रारम्भिक अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । गोवा प्रहरीले नाइट क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ । मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत नाइट क्बल सन्चालन अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारी पनि निलम्बनमा परेका छन् ।

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रपति द्रौपदी मर्मुले यस घटनामा शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, 'गोवाको अर्पोरा क्षेत्रको घटनाले गहिरोसँग दुखाएको छ । ती सबैको परिवारसँग मेरो समवेदना छ, जसले आफ्ना प्रियजनलाई गुमाएका छन् । म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । मैले गोवाका मुख्यमन्त्री डा प्रमोद सावन्तसँग स्थितिबारे कुरा गरेको छु । राज्य सरकार प्रभावितहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछ ।'

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानको अडिट गर्ने जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले घटनामा मृतक र घाइतेहरूको लागि सहयोगको घोषणा गरेको छ । पीएमओले एक्समा लेखेको छ, 'गोवाको अर्पोरा क्षेत्रमा भएको दुर्घटनामा मृत्यु भएका प्रत्येक व्यक्तिको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ दिइनेछ ।'

गोवा आगलागीमा मृत्यु भएका नेपालीहरु 

  • चुर्ण बहादुर पुन — नेपाल
  • विवेक कटवाल — नेपाल
  • सबिन — नेपाल
  • सुदीप — नेपाल

 

सोमबार २३ मंसिर २०८२ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया