काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय गर्ने उनको भनाइ थियो । उनले दुईतिहाई मत ल्याउनको अहिलेदेखि नै तयारी थाल्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।
टोल, वडा, पालिका कुनै स्थान खाली नराखी जनताको जानुपर्ने उनको भनाइ छ । १७ वटा पार्टी एकीकृत भएर नेकपा बनेको उल्लेख गर्दै उनले जनताको घर दैलोमा पुग्न नेताको अभाव नै नहुने बताए ।
हामी नेपाली कम्युनिस्ट पार्टी, आज १७ वटा पार्टी यसमा एकीकृत भएका छन् र हामी अगाडी बढ्दैछौँ । आगामी फागुन २१ गतेको आम निर्वाचनमा हामीले भाग लिन्छौँ । अहिलेदेखि नै जानुपर्छ हामी जनताको बीचमा, कही कुनै पालिका खाली गर्ने होईन, कुनै वडा खाली गर्ने होईन, कुनै टोल खाली गर्ने होईन, सब ठाउँमा । १७ वटा पार्टी सामेल भईसकेपछि नेताको अभाव नै हुँदैन, ती सबै नेता जनताको घर दैलोमा पुग्ने हो । त्यो अभियान हामीले सुरु गर्ने हो ।
मरौँला अथवा बाँचौला फरक पर्दैन तर हामी समाजवाद निर्माण गर्नको निम्ति आगामी फागुन २१ गतेको निर्वाचनबाट अहिले तपाईहरुको बीचमा पनि म भन्न चाहन्छु, दुई तिहाई बहुमतमा नै हामी पुग्नुपर्छ । दुईतिहाई बहुमतसहितको भएपछि हामीले शुरु गर्नेछौँ, समाजवादको काम त्यहाँबाट थालनी हुनेछ, बाटो बन्नेछ, उत्पादन हुनेछ । घरहरु बन्नेछन्, कसरी जनतालाई सुविधा हुन्छ, सारा संसारबाट वैज्ञानिकहरुलाई ल्याउनेछौँ । हामीले पनि सीप सिक्न पठाउनेछौँ, ठाउँठाउँमा । हामीले यस्तो किसिमको नेपाल निर्माण गर्नेछौँ र जसलाई हाम्रा सन्ततीहरुले सधैभरी गौरव गर्नेछन् ।
प्रतिक्रिया