काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कुष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । बुधबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आह्वान गरेअनुसार तीन राजनीतिक दलको समर्थनमा यादवले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त सरकारका लागि आह्वान गरेकी थिइन् । १०७ सदस्यीय मधेश प्रदेशमा यादवको समर्थनमा ५८ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनाउन एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेश सांसदले समर्थन गरेको दावी पेश गरिएको छ ।
२- कतारको दोहास्थित नेपाली दुताबासले कतारमा विभिन्न पेशा र व्यवसायमा कार्यरत रहेका सम्पूर्ण नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य-मान्यता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । बुधबार एक सुचना जारी गर्दै दुताबासले यस्तो अनुरोध गरेको हो । दुताबासले सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोवार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लङ्घन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन आग्रह गरेको छ ।
३- ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा युएनडिपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तनलगायतका क्षेत्रमा उपलब्ध गराइरहेको सहायता एवम् सञ्चालित योजना कार्यान्वयन अवस्थामा बारेमा छलफल भएको थियो । रोजगारीका शिलसिलामा विदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिने सरकारले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री घिसिङले अन्य देशमा प्रयोगमा ल्याइएको अनलाइन मतदान प्रविधि नेपालमा पनि अपनाउन आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरेका थिए । उनले जलवायु परिवर्तनबाट सिर्जित प्रभाव न्यूनीकरण, ग्रामीण क्षेत्रमा लघु तथा मझौला उद्योगमार्फत रोजगारी सिर्जना, जोखिमयसक्त हिमतालको अध्ययन, विपद्को पूर्वसचेतना प्रणाली, पूर्वतयारी, जिवाष्म इन्धनबाट सञ्चालित सवारी साधन एवम् घरायसी प्रयोजनमा प्रयोग हुने परम्परागत ऊर्जालाई विद्युतीय ऊर्जाबाट विस्थापित गर्ने, ऊर्जा बढी खपत गर्ने उद्योगमा विद्युतीय ऊर्जा प्रयोगलाई प्रवर्धन, इँटाभट्टामा प्रयोग भइरहेको कोइलालाई प्रतिस्थापन गरी विद्युतीय ऊर्जा प्रयोग गरी कार्बन उत्सर्न घटाउनेलयागतका क्षेत्रमा आवश्यक सहयोग गर्न अनुरोध गरेका थिए । युएनडिपीका तर्फबाट निर्वाचनका लागि सहयोग उपलब्ध गराउने, जलवायु कोषबाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्नेलगायतका विषयमा सहयोग उपलब्ध गराउने बताइएको थियो ।
४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेताको मात्र सम्पत्ति छानबिन गरेर नपुग्ने बताएका छन् । लिङदेनले नेताको परिवार, नातेदार र अन्य निकटसम्मको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताउदै नेताको मात्र छानबिन गरेर नहुने बताएका हुन् । उनले नेताहरूको सम्पत्ति छानबिनको माग आफुहरुले लामो समयदेखि गर्दै आएको बिषय भएको उल्लेख गर्दै अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको बताएका छन् । उनले भने- 'नेताहरूको सम्पत्ति छानबिनको माँग हामीले लामो समयदेखि गर्दै आएको बिषय हो । अहिले केही नेताहरूको सम्पत्ति छानबिन प्रारम्भ भएको समाचारले खुसी लागेको छ । तर छानबिन नेताको मात्र गरेर पुग्दैन उनका परिवार, नातेदार र अन्य निकटसम्मको पनि गर्नुपर्छ ।'
५- निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका र तयारीका विषयमा आयोगले तिहारअघि राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् । यसका लागि आयोगले यसअघि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने देखि स्थानीय तहमा निर्वाचित भएका सबै दलहरुलाई पत्राचार गरेको छ । प्रवक्ता भट्टराईले तोकिएको समयमा नै निर्वाचन गर्न आयोग क्रियाशील रहेको उल्लेख गर्दै विशेष अवस्थामा निर्वाचन हुन लागेकाले सरोकारवालाहरु निर्वाचन अभियानमा सहभागी हुने अपेक्षा रहेको बताएका छन् ।
६- असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले तीनवटै फिल्मको आठ दिनको ग्रस कमाई बुधबार सार्वजनिक गरेको हो । आठ दिनमा फिल्म ‘बलिदान’ ले सबैभन्दा बढी ३ करोड ७५ लाख ५३ हजार २५१ को ग्रस कमाई गरेको छ । त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले आठ दिनमा ३ करोड २१ लाख ७० हजार १६० ग्रस कमाई गरेको छ । त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले आठ दिनमा २ करोड १३ लाख ६४ हजार ६ ९२ ग्रस कमाई गरेको छ । यसरी आठ दिनमा तीन फिल्मले कुल ९ करोड १० लाख ८८ हजार १०३ ग्रस कमाइ गरेको बोर्डले जनाएको छ ।
७- यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार जापानी, बेलायती र जोर्डनका तीन अनुसन्धानकर्तालाई प्रदान गरिएको छ । बुधबार नोबेल समितिले स्वीडेनको स्टकहोममा एक समारोहमा जापानका सुसुमु किटागावा, बेलायतका रिचर्ड रोबसन र जोर्डनका ओमर याघीलाई यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । तीन जनाले 'धातु-जैविक ढाँचा' को विकासको लागि प्रदान गरिएको समितिले जनाएको छ । समितले भनेको छ- 'धातु-जैविक ढाँचाहरूमा विशाल क्षमता छ, जसले नयाँ कार्यहरू सहित अनुकूलित सामग्रीहरूको लागि पहिले अप्रत्याशित अवसरहरू ल्याउँछ ।' समितिले ग्यास र अन्य रसायनहरू प्रवाह गर्न सक्ने ठूला ठाउँहरू भएका आणविक संरचनाहरू सिर्जना गरेकोमा पुरस्कार विजेताहरूको प्रशंसा गरेको छ । गत वर्ष, यो पुरस्कार तीन वैज्ञानिकहरू डेभिड बेकार, डेमिस हासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।
८- दशैँपछि नेप्सेमा लगातार गिरावट आएको छ । बुधबार ४५.३६ अंकले घटेर नेप्से २५५९.५९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ । आज सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रभु इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको २६ करोड १६ लाख र युनियन हाइड्रोको २४ करोड ४९ लाख बराबरको कारोबार भएको छ ।
९- बलिवुड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई विदेश यात्रा गर्न चाहेमा ६० करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने आदेश जारी भएको छ । भारतको लाइभ लको रिपोर्टका अनुसार, बम्बई उच्च अदालतले लुकआउट सर्कुलर रद्द गर्न माग गरिएको निवेदनको जवाफमा बुधबार यो आदेश दिएको हो । अदालतले अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रालाई लस एन्जलस वा अन्य देशहरूमा यात्रा गर्न चाहेमा ६० करोड भारु जम्मा गर्न निर्देशन दिएको छ । कथित ६० करोड ठगी मुद्दा बारे जारी गरिएको लुकआउट सर्कुलर रद्द गर्न दम्पतीले उच्च अदालतमा निवेदन दिएपछि अदालतको यो निर्देशन आएको हो । लुकआउट सर्कुलर भनेको सरकारले अपराधको आरोप लागेका व्यक्तिहरूको आवागमन नियन्त्रण र प्रतिबन्ध गर्न प्रयोग गर्ने कानुनी उपकरण हो । यो उनीहरू देशबाट भाग्न नपाउन भन्ने सुनिश्चित गर्ने एक कानुनी तरिका हो । केही अवस्थामा, यो विशेष परिस्थितिहरूमा साक्षीहरूको लागि पनि प्रयोग गरिन्छ । शिल्पा र राजले मुम्बईका व्यापारी दीपक कोठारीको ६० करोड ठगीको आरोप लागेको छ । एक कम्पनीमा लगानीको सिलसिलामा दीपक कोठारीको सो रकम दुवैले हड्पेको आरोप रहेको छ ।
१०- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरको छ । अख्तियारले बुधबार एमाले नेता गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दायर मुद्धामा उनीहरूविरुद्ध ७८ लाख बिगो मागदाबी गरिएको छ । जग्गा हिनामिना गर्ने योजनामा भएको घूस डिल प्रकरणमा पूर्वमन्त्रीद्वय र बिचौलियासहितका व्यक्तिको अडियो सार्वजनिक भएपछि यो प्रकरणमा मुद्दा अघि बढेको थियो । यस प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको अख्तियार स्रोतले बताएको छ । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १३४ रोपनी जग्गा हासिल गर्न तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएपछि यो विषय बाहिर आएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए ।
११- ओमानले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । ओमानले समुह सीको पहिलो खेलमा सामोआलाई ५ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको हो । सामोआले दिएको ९३ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको सामोआले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनाएको थियो । आजदेखि शुरु भएको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आजै कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार रति ८: ४५ बजेदेखि शुरु हुदैछ भने यस खेलको प्रत्यक्ष प्रशारण आइसीसीले आफ्नो वेभसाइट र एपमा गर्दैछ ।
१२- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले असोज २४ गते बस्ने गरि सचिवालय बैठक बोलाएको पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगति बारे छलफल हुने ज्वालाले जानकारी दिए ।
१३- काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध अर्को जाहेरी पनि परेको छ । अधिवक्ता युवराज सफलले मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जानकारी दिएका छन् । राजद्रोह गरेको कसुरमा जाहेरी परिसरमा दिइएको छ । सफलले जाहेरीमा २५ बर्षसम्मको जेल सजायको माग उल्लेख गरेका छन् । साथै प्रहरीले जाहेरी दर्ता नगरेको बताए । यसअघि मंगलबार पनि नेकपा एमालेनिकट अनेरास्ववियुले मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध जाहेरी दिएको थियो । प्रहरीले जाहेरी दर्ता नगरेर सरकारले गठन गरेको जाँचबुझ आयोगमा पठाउने तयारी गरेको बताइएको छ ।
१४- नेकपा एमालेका नेता महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले घिसिङको मुद्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा दर्ता भइसकेकाले उनीमाथि पनि सुरुमा छानबिन गर्नुपर्ने बताएका हुन् । बस्नेतले कुलमानले भतिजोमार्फत लामा कन्ट्रक्सनमा लगानी रहेको आरोप लगाउदै सूर्यविनायक-धुलिखेल सडकखण्डमा उनको भतिजो ६० प्रतिशन लगानी रहेको र भतिजोमार्फत भएको उनको अप्रत्यक्ष लगानी भएको लामा कन्ट्रक्सनको भुक्तानी गर्नुपर्ने रहेकाले सडक निरीक्षणमा गएको आरोप लगाएका छन् । उनले भने- सबैभन्दा पहिले भ्रष्टाचारको छानबिन कुलमान घिसिङबाट गरौं । मैले कुलमान जतिको भ्रष्टाचारी कोही देखेको छैन । रामेश्वर खनाल जीबाट सुरु गरौं, पूर्व अर्थसचिव हो । कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
१५- नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ। यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले "पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रममा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ। यो परियोजना नेपाल विद्युत प्राधिकरण मार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंक (केएफडब्लु) बीच कार्यान्वयन सम्झौता पनि हुने बताइएको छ । यो सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ । प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ ।
१६- इजिप्टमा भइरहेको हमास र इजरायलबीचको वार्तामा अमेरिकी विशेष दूत स्टीव विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनरले भाग लिने भएका छन् । त्यस्तै इजरायली रणनीतिक मामिला मन्त्री रोन डर्मर र कतारी प्रधानमन्त्री पनि युद्धविराम वार्तामा सामेल हुने सम्भावना रहेको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायली र हमासका प्रतिनिधिहरू बीच इजिप्टमा भइरहेको वार्ता अप्रत्यक्ष वार्ताको दोस्रो दिन मंगलबार कुनै ठोस परिणाम बिना नै समाप्त भएको थियो । यसअघि मध्यस्थकर्ताहरूले युद्धको अन्त्य, कैदी र बन्धकहरूको आदानप्रदान, गाजाबाट इजरायली फिर्ता, मानवीय सहायता प्रदान गर्ने र युद्धपछिको शासन लगायतका विषयलाई वार्ताको विषय बनाउन हमास र इजरायलसँग सहमति गरेको विषय बाहिर आएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वार्ताको स्थितिको बारेमा अहिलेसम्म टिप्पणी गरेका छैनन् भने उनले इजरायलले आफ्नो युद्ध लक्ष्यहरू सबै बन्धकहरूको फिर्ती, हमास शासनको अन्त्य, र गाजा अब इजरायलको लागि खतरा हुनेछैन भन्ने वाचा प्राप्त गर्न कारबाही जारी राख्ने बताएका छन् ।
१७- नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २६ सयले बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको २९६० मा कारोबार भएको थियो ।
१८- नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो । फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो । पाँच खेलको यस सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो । त्यस्तै तेस्रो खेल मलेसियाले १३ रनले जितेको थियो भने चौथो खेल नेपालले ६ विकेटले जितेको थियो ।
१९- असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयकातर्फबाट निममित अनुगमन भइरहेको मन्त्री घिसिङले बताए । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षेति मची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट—मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ । त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । बैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
२०- भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ काफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था बिभागले गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको छ । बिभागले यस्ता प्रकारका घटनाहरु विगतमा पनि भई सकेकोमा सो प्रति विभाग पहिले नै सचेत रही कार्य गर्दै आएको छ । नेपालमा झोल बनावटको औषधि उत्पादन तथा आयात गर्ने सबै उद्योगहरुलाई आफ्नो उत्पादनमा प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल र ग्लिसेरोल / ग्लिसरीन जस्ता सहायक कच्चा पदार्थ प्रयोग गर्दा तिनीहरूमा इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोलको मिसावट नभएको सुनिश्चित गर्न आवश्यक गुणस्तर परीक्षण अनिवार्य गर्दै २०७९ मा नै सूचना प्रकाशित गरिएको बताएको छ । यस पश्चात गत साउन २१ गते डब्लुएचओ कार्य दस्तावेज बमोजिम मौखिक प्रयोगको लागि तरल तयारीमा इथिलीन ग्लाइकोल र डाइथिलीन ग्लाइकोलको मात्रा परीक्षण गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको जनाएको छ । बिभागले सम्बन्धित सबै पक्षलाई यस विषयमा पुनः सचेत रहन निर्देशन दिदै आवश्यक गुणस्तर परीक्षण गर्न निम्न बमोजिमको निर्देशन पालना गर्न गराउन अनुरोध गरिएको बताएको छ । विभागले औषधि उत्पादकका लागि कच्चा पदार्थ खरिद गर्दा आधिकारिक आपूर्तिकर्ताहरुबाट फर्माकोपियल स्तरको मात्र खरिद गर्न, उल्लेखित कच्चा पदार्थ तथा सो समिश्रित झोल बनावटको औषधिको निर्धारित विधि बमोजिम बिथिलिन ग्लाइकोल डाइथिलिन ग्लाइकोलको परीक्षण गरे पश्चात मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ । साथै विभागले औषधि आयातकर्ताका लागि नेपालमा आयात हुने उल्लेखित कच्चा पदार्थ मिश्रित झोल बनावटको औषधिको प्रत्येक व्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरे पश्चात मात्र आयात तथा विक्री वितरण गर्न निर्देशन दिएको छ । त्यस्तै फार्मेसीहरूका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विक्री वितरण गर्न निर्देशन दिएको छ भने चिकित्सकहरुका लागि विभागमा दर्ता भएका औषधिहरु मात्र विरामीलाई दिन निर्देशन दिएको छ । साथै बिभागले दुई वर्ष वा सो भन्दा कम उमेरका बालबालिकाहरुलाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न गराउनु हुन पनि निर्देशन दिएको छ । साथै बिभागले सर्वसाधारणलाई बालबालिकाका लागि प्रयोग गरिने कुनै पनि औषधि चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गर्न, विभागमा दर्ता भएका औषधिहरु मात्र प्रयोग गर्न, औषधिको लेबलमा उल्लेखित जानकारी वमोजिम मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया