×

बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध आज जेनजी पुस्ताको प्रदर्शन

images

काठमाडौँ । आज जेनजी पुस्ताको प्रदर्शन हुदैछ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले आज बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरेको छ ।

यसका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा बाहिरको क्षेत्रमा प्रदर्शनको अनुमति दिएको जानकारी आयोजकले दिएका छन् ।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ । अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ ।  एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।

यस प्रदर्शनका लागि रास्वपा, माओवादी केन्द्रसहितका दलले पनि समर्थन जनाएका छन् भने अन्य विभिन्न अभियानले पनि यस प्रदर्शनलाई समर्थन जनाएका छन् । जेनजीको यस स्वस्फुर्त प्रदर्शनलाई राजनीतिक रंग दिने प्रयास शुरु भएपछि काठमाडौँ महानगरका मेयर बालेन शाहले आन्दोलन प्रति आफ्नो समर्थन जनाउदै नेता र अभियन्ताहरुलाई यसको फाइदा उठाउन धेरै बाठो नहुन सचेत गराएका थिए ।

स्वस्फुर्त रुपमा सामुहिक नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने हुनाले यसको नेतृत्व कसैले पनि नगर्ने तर शान्तिपूर्ण रुपमा भेला भएर आफ्ना राख्ने गरि तयारी गरेको आयोजकले जनाएका छन् ।

 

सोमबार २३ भदौ २०८२ ०७:०९ AM मा प्रकाशित

प्रतिक्रिया