×

क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भएको खण्डमा आन्दोलन हुन्छ -रास्वपा

images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशालाको लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले क्रिकेट रङ्गशालाको लागि आफूहरुले छिट्टै आन्दोलन गर्ने बताएका हुन् । लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रङ्गशालाको डीपीआर भएको र साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालको परिकल्पना गरिएको उनले स्मरण गराए । सो कार्यका लागि अहिलेसम्म ४ करोड रुपैयाँ खर्च पनि भइसकेको उनले बताए ।

तर, खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले भाडा बढाएर एकै पटक ४९ लाख ६० हजार बनाइएको उनले बताए । नेता झाले समृद्ध नेपाल र समृद्ध दलाल छिरेर भाडा बढाइएको हुन सक्ने भन्दै सरकारप्रति व्यङ्ग्य गरे । जनकपुरका युवाहरुको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भएको खण्डमा आन्दोलन हुने उनको चेतावनी छ ।

‘हामीले अहिलेसम्म ४ करोड रुपैयाँ खर्च पनि गरिसकेका थियौं । तर, एक्कासी खै के प्रलोभनले त्यसको भाडा दर ४९ लाख ६० हजार बनाइयो । यसमा पक्कै पनि समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो छ । अब यदि जनकपुरका युवाहरुको क्रिकेट रङ्गशालाको त्यो परिकल्पनमा कुनै व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ,’– उनले भने । 

बिहीबार २५ बैशाख २०८२ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया