×

संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्चमा

images

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ 

प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेसश गरिएको हो । यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका हुन् ।

कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका अनुसार निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुनेछ ।

यसअघि एमालेले पनि छुट्टै रिट निवेदन दर्ता गरेको थियो। मंसिर १७ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उत्त रिटमा कारण देखाउ आदेश जारी गरेको छ। त्यसअघि अधिवक्ताहरु र नागरिकस्तरबाट १६ वटा रिट निवेदन दर्ता भइसकेका छन्।

कांग्रेस र एमालेले संयुक्त रुपमा रिट दर्ता गर्ने भने पनि केही दिनको फरकमा पुनःस्थापनाको माग लिएर सर्वोच्च गएका हुन्। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो। त्यसै भेटले कांग्रेस पनि रिटमा जान तयार भएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव घोषणा गरिएको थियो।

आइतबार​ २२ मंसिर २०८२ ०७:०१ PM मा प्रकाशित

प्रतिक्रिया