×

यमपञ्चकको दोस्रो दिन आज काग तिहार: यमदूतका रूपमा कागको पूजा गरिँदै

images

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज शनिबार देशभरि काग तिहार पर्व मनाइँदै छ। धार्मिक र शास्त्रीय मान्यता अनुसार आकाश मार्गबाट सञ्चार प्रवाह गर्ने यमराजको दूतका रूपमा कागलाई मीठो-मीठो खाना खान दिएर यो पर्व मनाइने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबार यो पर्व मनाउने निर्णय गरिएको हो।

धार्मिक र व्यावहारिक मान्यता

धार्मिक मान्यता अनुसार यमराजले पृथ्वीलोकको सुख-दुःख र सम्पूर्ण गतिविधिहरूको खबर कागका माध्यमबाट नै थाहा पाउने गर्छन्। त्यसैले कागले यमराजसमक्ष संधै शुभ र राम्रो खबर लगिदियोस् भन्ने कामनाका साथ आजका दिन कागको पूजा आराधना गरी उसलाई खुसी पार्ने गरिन्छ।

हाम्रो लोक व्यवहारमा पनि काग घरको वरिपरि आएर कराएमा केही खबर लिएर आएको विश्वास गरिन्छ। काग कराउँदा अशुभ नहोस् भन्नका लागि ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन अझै पनि जीवितै छ।

कागेश्वरी मन्दिरहरूमा विशेष मेला

काग तिहारको अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना र मेला लाग्ने गर्दछ। यसैगरी, हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि आजका दिन कागको विशेष पूजा गर्ने श्रद्धालुहरूको उल्लेख्य घुइँचो लाग्ने गर्दछ।

यमदीपदान र धनतेरस शुक्रबार नै सम्पन्न

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा त्रयोदशी तिथि परेकाले यमपञ्चकको सुरुवात र यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भइसकेको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा दक्षिण फर्काएर दियो बाल्ने (यमदीपदान) शास्त्रीय विधि रहेको छ।

यसैगरी, धन र ऐश्वर्यकी देवी लक्ष्मीलाई घरमा स्थिर राख्नका लागि गरगहना तथा तामा-पित्तलका भाँडाकुँडा किन्ने विशेष पर्व 'धनतेरस' पनि शुक्रबार नै उत्साहका साथ मनाइइसकेको छ। तिहार सुरु भएसँगै देशभर चाडबाडको उमङ्ग छाएको छ।


शनिबार २२ कात्तिक २०८३ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया