×

शिव कृष्ण जेनरल स्टोरबाट २५० को खरिदमा भाग्य चम्कियो : १० लाख जित्ने उपभोक्ता को हुन्?

images

काठमाडौँ । वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको नगद उपहार योजनाअन्तर्गत एक उपभोक्ताले २५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको १५ दिनको बम्पर उपहार शिव कृष्ण जेनरल स्टोरमा सामान खरिद गर्ने उपभोक्ताले जितेका हुन्। सरकारले अनलाइन प्रणालीमार्फत जारी भएका बिलका आधारमा पारदर्शी ढङ्गले भाग्यशाली विजेता छनोट गर्दै आएको छ।

नेपालभित्र एक पटकमा कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी कम्प्युटर प्रणालीबाट बिल लिने उपभोक्ताहरू यो उपहार कार्यक्रममा स्वतः सहभागी हुन पाउँछन्।

यो योजनाअन्तर्गत दैनिक र मासिक गरी दुई प्रकारका उपहार व्यवस्था गरिएको छ। बिल लिने उपभोक्ताहरूमध्येबाट:

  • दैनिक पुरस्कार: हरेक दिन एक जना भाग्यशाली उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ प्राप्त गर्छन्।

  • बम्पर पुरस्कार: महिनामा दुई पटक (पाक्षिक रूपमा) दुई जनालाई जनही १० लाख रुपैयाँ प्रदान गरिन्छ।

राजस्व विभागले उपभोक्ताहरूलाई सामान खरिद गर्दा अनिवार्य रूपमा कम्प्युटर बिल माग्ने बानी बसाल्न र कर प्रणालीलाई व्यवस्थित बनाउन यो योजना सञ्चालनमा ल्याएको हो।

शुक्रबार​ २२ साउन २०८३ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया