×

निकासका लागि गठबन्धनको पक्षमा हस्ताक्षर गरेँ, नैतिकताको कुरा आएमा म राजीनामा दिन सक्छु- सभामुख बाबुराम गौतम

images

विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।  सभामुख गौतमले नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेकै कारण अप्ठ्यारो अवस्था आए पदबाट राजीनामा दिने बताएका हुन।

पत्रकारसँग कुरा गर्दै सभामुख गौतमले तत्कालै राजीनामा नदिए पनि भोलीका दिनमा राजीनामा दिनसक्ने संकेत गरेका हुन् । ‘गठबन्धनको सरकार बनाउन मैले हस्ताक्षर गरेको हो। मलाई कसैको दबाब थिएन। आफ्नै इच्छाले हस्ताक्षर गरेको हुँ। परिआएमा सभामुख छाड्न सक्छु’, उनले भने, ‘यदि हस्ताक्षर गरेकै कारण कुनै अप्ठ्यारो आएमा नैतिकताको कुरा आउँछ, म राजीनामा दिन सक्छु।’

उनले संसदीय इतिहास भनेको पक्ष र विपक्षकै इतिहास रहेको पनि बताए। ‘देख्नुभयो नि! मुख्यमन्त्री उद्धव थापाले निष्पक्षताको शपथ खाएका छन्’, उनले अगाडि भने, ‘मैले सदनमा रहँदासम्म निष्पक्ष भूमिका खेल्छु। यदि त्यो हुन सक्ने अवस्था आएन भने साँच्चिकै अफ्ठ्यारो भए राजीनामा दिन्छु।’ उनले आफ्नो कदमलाई लिएर नैतिक प्रश्न उठे पनि डेड लक तोड्न हस्ताक्षर गरेको बताए। 

‘नैतिक प्रश्न त उठ्यो तर अहिलेको निकास के त? दुवैतिर बहुमत नपुग्दा के गर्ने त? डेडलक राखिरहन त भएन’, उनले भने, ‘म सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जाने दायित्व मेरो थियो। एकातिर हस्ताक्षर गर्न नपरोस् भन्ने चाहनथा थियो। तर निकास त दिनुपर्‍यो। निकासका लागि मैले गठबन्धनको पक्षमा हस्ताक्षर गरेँ।’

उनले सरकार बन्नै नसक्ने अवस्थालाई किनारा लगाउन आफूले हस्ताक्षर गरिदिएको बताउँदै त्यसकै कारण परिआए सभामुख पद छाड्ने पनि पटक पटक दोहोर्‍याए। ‘सहज बहुमत नभएको अवस्थामा सरकार पनि टिक्दैन’, अहिले पनि प्रदेशसभामा सत्ता र प्रतिपक्षको गणित ४६–४६ को अवस्था रहेको भन्दै उनले भने, ‘कसैको दबाबमा होइन, मेरो इच्छाले राजीनामा दिनुपर्ने परिस्थिति आउनसक्छ, किनकि नैतिकताको प्रश्न पनि छ ।’

यद्यपि सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने गौतमले बताएका छन् ।

शुक्रबार​ २२ असार २०८० ०२:२९ PM मा प्रकाशित

प्रतिक्रिया