बजारमा चिनीको अभाव नभएको सरकारले जनाएको छ । नेपालमा चिनीको मौज्दात पर्याप्त भएकाले बजारमा हल्ला चलेजस्तो अभाव नभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।
उनका अनुसार भारतले चिनी निर्यातमा रोक लगाएको अवस्थामा आवश्यक परेमा अरु देशबाट चिनी आयात गर्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको छ । तत्कालको लागि अभाव नहुने भन्दै उनले एकै पटक धेरै किनेर नथुपार्न उपभोक्तालाई आग्रहसमेत गरिन् ।
भारतले निर्यातमा रोक लगायो भनेर केही साना व्यापारीले कृत्रिम अभाव सिर्जना गरेकाले उपभोक्ताले गुनासो गरेको हुनसक्ने भन्दै मन्त्रालय अन्तर्गतको विभागले त्यसको अनुगमन थालिसकेको बताइन् । कसैले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने गरेको पाइएमा कडा कारबाही हुने उनको भनाइ छ ।
तत्कालको लागि चिनीको अभाव नभएको र अभाव हुने अवस्था आएमा भारतबाहेकका अरु देशसँग पनि सहकार्य गर्ने उनले बताइन् ।
भारतले अगस्ट महिनासम्म निर्यातमा रोक लगाए पनि उसले बाहिरी देशबाट कच्चा पदार्थ किनेर ल्याएर बिक्री गर्न सक्ने सम्भावना रहने भएकाले आत्तिनु पर्ने अवस्था नभएको उनको भनाइ छ ।
प्रतिक्रिया