×

धितोपत्र बोर्डमा अख्तियारको छापा, लियो आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रण

images

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ । आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा मारेको हो ।अख्तियार स्रोतका अनुसार बुधबार छापा मारेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिइएको छ ।

निजी ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० का पदाधिकारीका अनुसार हरेक कम्पनीको आईपीओ निष्कासनमा सर्वसाधारणलाई सेयर जारी हुने रकमको ५ प्रतिशतका दरले कमिसन माग गर्ने गरिएको छ ।

४३ जलविद्युत् कम्पनीको आईपीओ स्वीकृति क्रममा रहेकामा त्यसमध्ये ४२ कम्पनीसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूले रकम माग गरेको विद्युत् कम्पनीहरूले पुष्टि गरेका छन् ।

धेरैजसो प्रवर्द्धकहरूसँग भेटेरै र कतिपयसँग फोन, एसएमएस र इमेल मार्फत पनि रकम माग गरेको जलविद्युत् प्रवर्द्धकहरू बताउँछन् ।

‘पाइपलाइनमा रहेका कम्पनीहरूसँग चाँडै आईपीओ स्वीकृत गराउने हो भने ५ प्रतिशतले रकम दिनुस्, चाँडै काम हुन्छ । ढिला गरेर किन धेरै ब्याज तिर्नुहुन्छ भन्दै रकम माग्ने गरिएको छ,’ ऊर्जा उत्पादकहरूले भन्ने गरेका छन् ।

आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय मिडिया मार्फत सार्वजनिक भएपछि त्यसबारे संसद्‍मा पनि कुरा उठेको छ । त्यसपछि अख्तियारले बोर्डमा छापा मारेको अख्तियार स्रोतले बतायो ।

बुधबार २४ बैशाख २०८२ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया