काठमाडौं । नेपाल प्रिमियर लिगको आजको खेलमा कर्णाली याक्सले संघर्षपूर्ण जित निकालेको छ । यो कर्णालीको प्रतियोगितामा पहिलो जित हो । कर्णालीले अन्तिम बल बाँकी रहँदा ६ विकेटले जितेको हो । एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो।
कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ। चितवनले पहिलो खेलमा काठमाण्डु गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो। एक समय अन्तिम २ ओभरमा १० रन चाहिएको सहज अवस्थामा रहेको कर्णालीका लागि सोहेल तनवीरको १९ औं ओभरले कठिनाइ थपेको थियो । तनवीरले आफ्नो ओभरमा २ रन मात्र खर्च गरेपछि कर्णालीलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।
कर्णालीका लागि शिखर धवनले ४५ रन बनाए । चाडविक वाल्टनले ३०, देव खनालले २५ रन बनाए । चितवनका लागि कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रवि बोपाराले १–१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३० रनको स्कोर बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक नटआउट ५९ रन बनाएका थिए भने कप्तान कुशल मल्लले २३ रन बनाएका थिए । यस्तै कर्णालीका बलर विपिन शर्माले ३ तथा जिशान मक्सुदले २ विकेट लिएका थिए ।
प्रतिक्रिया