काठमाडौं । विशेष अदालतले वाडबडी विमान खरिदमा नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारीसहित चार जनालाई भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट हिजो बिहीबार संक्षिप्त फैसला प्रकाशन गर्दैनेवानिका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्यहरू बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो । निगमका तत्कालीन महाप्रबन्धक र सञ्चालक समितिको सदस्यसमेत रहेका कारण यस प्रकरणमा कंसाकार मुख्य दोषी हुने विशेषको फैसलामा उल्लेख छ।
निगमको सञ्चालक समितिबाट हुने निर्णयको एजेन्डा पेस गर्ने दायित्व उनकै रहेको र विवादित खरिद प्रस्तावको प्रारम्भिक ढाँचा अध्ययन गर्ने, स्वीकृत गर्ने, प्राप्त ११ थान प्रस्तावको मूल्याकंन उपसमितिबाट प्रतिवेदन लिएर अध्ययन गरी आफ्नो रायसहित सञ्चालक समितिमा पेस गर्नेदेखि अन्तिम भुक्तानी दिनेसम्मका जिम्मेवारीका कारण उनी मुख्य दोषी हुने व्याख्या फैसलामा गरिएको छ।
कंसाकारलाई २ वर्ष ६ महिना कैद तोकेको छ । यस्तै, उनलाई १२ करोड २५ लाख ९० रुपैयाँ जरिवाना पनि तोकिएको छ । कंसाकार अहिले ७४ वर्ष पुगिसकेकाले ज्येष्ठ नागरिकको लाभ लिँदै कैदमा ५० प्रतिशत छुट पाउनेछन् । जुन कुरा अदालतको फैसलामै लेखिएको छ।
पूर्वमन्त्री शाहीले सफाई पाए
वाइडबडी खरिदमा भ्रष्टाचार प्रकरणमा विशेष अदालतले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले भने सफाइ पाएका छन्। चार नेपालीमात्र दोषी ठहर भएपछि शाहीसहितले सफाइ पाएका हुन्। विशेष अदालतले विमान खरिदमा भएको भन्दै आंशिक ठहर गर्ने फैसला सुनाएको हो।
विशेष अदालतले सफाइ दिएपछि शाहीको निलम्बन फुकुवा भएको छ। तत्कालीन मुख्यमन्त्रीको रूपमा हेरिएका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए।
प्रतिक्रिया