×

समाजवादी मोर्चा बनाएर एमालेभित्र भूकम्प ल्याउनु पर्छ- प्रचण्ड

images

विराटनगर — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी घटकहरुलाई गोलबद्ध गर्नु अपरिहार्य भएको बताएका छन् । एमाले–कांग्रेसबीचको पछिल्लो सत्ता समीकरणपछि दाहाल पूर्वमाओवादीहरुलाई एउटै छातामा गोलबद्ध गर्न लालायित देखिएका हुन् ।

माओवादी कोशी प्रदेश कमिटीको सातौ पूर्ण बैठकलाई मंगलबार विराटनगरमा सम्बोधनका क्रममा दाहालको निष्कर्ष थियो, ‘अब पूर्वमाओवादी घटकहरुलाई गोलबद्ध नगरी सुखै छैन ।’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकता निश्चित नै भइसकेको र मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीसँग पनि एकता गर्ने कुरा भइरहेको भन्दै दाहालले कोशी प्रदेशका नेता तथा कार्यकर्तासँग खुलेरै भने, ‘अब पहिला जस्तै गोलबद्ध नभए समस्या छ ।’

केही वाम घटकहरुले सैद्धान्तिक रुपमै मिल्ने भनी निर्णय नै गरिसकेको बताएका दाहालले समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउन सकिने सम्भावना पनि राखे । समाजवादी मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल (उपेन्द्र समूह) लगायत पार्टी आबद्ध छन् ।

विगत साढे तीन दशकभन्दा लामो समयदेखि निरन्तर पार्टी नेतृत्वमा रहेका दाहालले पार्टी बनाउने अन्तिम मौका दिन कार्यकर्ता पंक्तिसँग अनुरोध गरे । ‘मलाई अन्तिम पटक मौका दिनुस्’, दाहालले भने, ‘अब पार्टी बनाउन लाग्छु ।’

उनी एकातिर अध्यक्ष बनिराख्नु पर्ने कुनै मोह नभएको प्रष्टोक्ती दिँदै थिए भने अर्कातिर अन्तिम पटक मौका दिन आग्रह गरिरहेका थिए । ‘छन् त सबै सबै छोडेर इतिहास लेख्न मन थियो’, दाहालले थपे, ‘तर, तयारी नगरी छोड्दा पलायन भएको आरोप आउन पनि सक्छ भनेर चिन्तित छु ।’ 

साथै उनले  यो सरकार धेरै जानेवाला छैन । यद्यपि हामी सरकारमा जान कुनै हिसाबले प्रयास गर्दैनौँ । सरकार नै हामीलाई खोज्दै आउँला कि भन्ने डर छ । तर, म अब प्रधानमन्त्री बन्दिनँ । उनीहरू फतक्क झर्नेवाला छन्,’ प्रचण्डले भने ।

उनले आफू ३५–३६ वर्षदेखि नेतृत्वमा रहेको र यो अवधिमा भएका सबै घटनाक्रमको बारेमा जानकार रहेको पनि बताए । उनले अझै लामो समय आफू नै अध्यक्ष हुनुपर्छ भन्ने नरहेको तर, त्यो खालको टिम निर्माण नहुँदा अप्ठ्यारो भएको उनले बताए । 

‘३५–३६ वर्षदेखि म पार्टीको नेतृत्वमा छु । यो अवधिमा जे भयो म जानकार छु । म अध्यक्ष बनिराख्नु पर्ने कुनै मोह छैन । सबै छोडेर इतिहास लेख्न मन छ । तर, पार्टी अगाडि बढाउने त्यो टिम बनाउन पाए छोडिदिन्थेँ । तयारी नगरी छोड्दा पलायन भएको आरोप लाग्न सक्छ,’ उनले भने । 

प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको सम्झिए । आफू प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको दाबी गरे । 

सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि रु,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो ।’

 अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए । 

आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने । 

उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ ।’

राजनीतिक परिस्थितिले माओवादी अहिले प्लसको अवस्थामा रहेको उनले सुनाए । संवैधानिक परिषद्मा काँग्रेस एमालेले एकलौटी गर्न नसक्ने, संविधान संशोधन गर्न राष्ट्रियसभामा उनीहरूको बहुमत नपुग्ने र त्यहाँ बहुमत पुर्‍याउन अझै डेढ वर्ष लाग्न सक्ने उनले बताए । त्यो समयावधि आफ्नो पार्टीको लागि प्लस पोइन्ट रहेको उनले बताए । दुवै छिमेकी राष्ट्रहरु पनि अहिलेको गठबन्धनसँग सशङ्कित रहेको उनले सुनाए । ‘अहिलेको सरकारप्रति दुवै छिमेकी देश खुसी छैनन् । यो त सात समुन्द्रपारीबाट बनेको सरकार हो भन्ने उनीहरूलाई शङ्का छ,’ प्रचण्डले भने । 

मङ्गलबार २२ साउन २०८१ ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया