काठमाडौँ, २२ असार । नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम सोमबार पनि जारी रहेको छ। हिजो (आइतबार) सामान्य गिरावट आएको सुनको भाउमा आज थप ठूलो गिरावट दर्ता भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
गएको साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको थियो। गत बिहीबार र शुक्रबार मात्रै दुई दिनको अवधिमा सुनको भाउ तोलामा १२ हजार ४ सय रुपैयाँले बढेको थियो, जसमा शुक्रबार मात्रै एकैदिन ७ हजार २ सय रुपैयाँको कीर्तिमानी वृद्धि भएको थियो। तर, यो साताको सुरुवात (आइतबार) देखि नै बजार पुनः ओरालो लाग्न थालेको हो।
स्मरणरहोस्, नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो, जतिबेला सुनको भाउ एकैदिन २० हजार ५ सय रुपैयाँ बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर ४ हजार ५ सय ८५ रुपैयाँमा झरेको छ। चाँदीको इतिहासलाई हेर्दा गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेर यसले नयाँ रेकर्ड बनाएको थियो भने माघ १८ गते एकैदिन १५ सय ६५ रुपैयाँको ऐतिहासिक गिरावट समेत बेहोरेको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावकै प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया