काठमाडौँ । आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी रूपमा संगठन सुदृढीकरण र नेतृत्व चयनको प्रक्रियालाई तीव्र पारेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टीले देशका ६७ जिल्लामा जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रिया सुरु गरेको छ । यस लगत्तै जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन समेत सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।
पार्टीलाई पूर्ण रूपमा लोकतान्त्रिक र निर्वाचित संरचनामा रूपान्तरण गर्ने रणनीतिअनुसार वडा र पालिका तहको निर्वाचन सम्पन्न गरिसकेपछि यो प्रक्रिया अगाडि बढाइएको हो ।
दुई दिनभित्र ६७ जिल्लामा नेतृत्व चयन हुँदै
रास्वपाले देशका कुल ७७ मध्ये ६७ वटा जिल्लामा महाधिवेशन अगावै नेतृत्व चयन गरिसक्ने लक्ष्य राखेको छ । जसअन्तर्गत:
पार्टीको मुख्य संगठन र बलियो प्रभाव रहेका यी ६७ जिल्लाको अधिवेशन सकिएपछि बाँकी रहेका १० वटा जिल्लाहरूको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपश्चात क्रमशः गर्दै जाने नीति रास्वपाले लिएको छ ।
जिल्ला अधिवेशनको यो लहर लगत्तै रास्वपाले सातै प्रदेशको अधिवेशन गर्ने तयारीलाई पनि तीव्रता दिएको छ । आगामी जेठ २६ गतेदेखि सातै वटा प्रदेशको अधिवेशनको तयारी भइरहेको र यसको सुरुवात पहिलो प्रदेश अधिवेशनका रूपमा बागमती प्रदेशबाट जेठ २६ गते नै गरिने महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्ट पारेका छन् ।
केन्द्रीय समितिको बैठकले तय गरेअनुसार बागमतीपछि क्रमशः जेठ २७ मा कोसी, जेठ २८ मा मधेस, जेठ २९ मा गण्डकी, जेठ ३० मा लुम्बिनी, जेठ ३१ मा कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको छ ।
असार ७ देखि राष्ट्रिय महाधिवेशन
यसरी तल्लो तहदेखि प्रदेश तहसम्म निर्वाचित नेतृत्व चयन गरिसकेपछि रास्वपा आफ्नो पहिलो महाधिवेशनमा होमिन लागेको हो । रास्वपाको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा भव्य रूपमा आयोजना हुँदैछ ।
विगतको तदर्थ समितिको संरचनालाई भंग गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शी निर्वाचन र विधिको शासन स्थापित गर्न यो अधिवेशन कोशेढुङ्गा सावित हुने दाबी रास्वपा निर्वाचन आयोगले गरेको छ ।
प्रतिक्रिया