×

ओलीलाई चुनावबाट जवाफ दिने गठबन्धनको रणनीति

images

काठमाडौँ  संसद् विघटन गरेर संविधान कुल्चिदा पनि कुतर्क गरेर नेपाली राजनीतिमा अराजकता मच्चाइरहेको नेकपा एमालेलाई सत्ता गठबन्धनले संसद् विघटन गरेर चुनावबाट जवाफ दिने तयारी गरेको छ । पछिल्लो समय सबै छलफल र सहमतिउन्मुख वार्ता असफल भएपछि आजित भएको सत्ता गठबन्धन संसद् विघटन गरेर भएपनि चुनावमा जाने निष्कर्षमा पुगेको हो ।

यो प्रस्तावले सार्थकता पाएमा आउँदो जेठ वा असोजसम्म आम चुनाव हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना १४ सांसदलाई पदमुक्त गर्नुपर्ने, सभामुख अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्ने माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने अडान राख्दै आएका छन् ।

यसका लागि बालुवाटार र बालकोटमा थुप्रै वार्ता चलेपनि सहमति भएको छैन । कांग्रेस महामन्त्री गगन थापा थुप्रैपटकका वार्ता र छलफलका प्रयास सफल नभएपछि अब संसद् विघटन नै गरेर भएपनि चुनावबाट एमालेलाई जवाफ दिने मनसाय पलाएको सार्वजनिक कार्यक्रमबाटै भन्न थालेका छन् ।

यसको अर्थ सत्ता गठबन्धनमा प्रवेश गरेको संसद् विघटनको मुद्दामाथि अब सार्वजनिक तहमै बहस सुरु भएको छ । संसद् चल्न नदिने, सत्तामा रहँदा संसद् विघटन गर्ने एमालेको अराजक राजनीतिमाथि नियन्त्रण गर्न चुनाव एक मात्रै विकल्प भएकोमा सत्ता गठबन्धनका नेताहरु एकमत भएका हुन् ।

चुनावमा सत्ता गठन्धन मिलेर जाँदा देशैभर एकलौटी जित हासिल गर्न सम्भव छ । यसअघि २०७४ सालको चुनावमा एमाले र माओवादी मिलेर देशैभर झण्डै दुईतिहाई बहुमत हासिल गरेका थिए । तर दुई पार्टी मिलेर बनेको नेकपा फुटेपछि भने अहिले एमाले र माओवादीको हालत पहिलेको अवस्थाजस्तो छैन ।

चुनावमा आफ्नो सिट जोगाउन दुवै पार्टीका नेता कार्यकर्तालाई गाह्रो छ । यस्तो अवस्थामा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीले देशैभर एमालेलाई जित्न दिने अवस्था रहँदैन । खासगरी एमालेलाई हराउन माधव नेपालको नेकपा एकिकृत समाजवादी पार्टी काफी रहने अनुमान छ ।

पार्टी फुटेकाले पनि एमालेलाई पहिलेको जस्तो सहज अवस्था छैन । यस्तो कठिन परिस्थितीमा अब सत्ता गठबन्धनले चुनावको विकल्पमाथि ध्यान केन्द्रित गरेको छ । खासगरी अहिले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गठबन्धनलाई लिएर चुनावमा जाँदा पनि देशैभर आफ्नो बहुमत आउने भएकाले चुनावमा जोड दिएको छ ।

एमसीसीबाट एमालेलाई सत्तामा ल्याएर माओवादी र नेकपा समाजवादीलाई हटाउने योजना विफल भएपनि अब एमालेलाई प्रतिपक्षीकै ‘साइज’मा राख्न कांग्रेसका युवा नेताहरुले भित्री योजना बनाएका छन् । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरे अनौठो हुनेछैन ।

त्यसमाथि प्रतिपक्षी एमालेको अराजक शैलीले पनि सत्ताधारी दललाई चुनावी विकल्पले अबको निकास दिन सक्ने बाध्यात्मक अवस्था सिर्जना गरेको छ । तर यसका लागि सम्भावित कानुनी उल्झन र संवैधानिक व्यवस्थाको पर्याप्त व्याख्या गरेर मात्रै कदम चालेमा सहज हुने देखिन्छ । अन्यथा चुनाव अगाडि सरकारले सर्वोच्च अदालतमा मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्छ ।

तर पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापा आक्रामक रुपमा गठबन्धनमा बसेर सत्ता स्वार्थ मात्रै उपयोग गर्ने प्रचण्ड र माधव नेपालविरुद्ध आक्रोशित छन् । कांग्रेसकै सहारामा संसद्मा जाने दाउ पर्खिरहेका प्रचण्ड र माधव नेपाललाई गगन थापाले अहिले देखि नै तर्साउन थालेका हुन् । पार्टी भित्र र बाहिर चर्को भाषण गर्दै थापाले कांग्रेस एक्लै चुनावमा जाने बताउन थालेपछि प्रचण्ड र माधव नेपाल त्रसित भएका हुन् ।

खासगरी आगामी चुनावमा कांग्रेस एक्लै चुनावमा जाँदा धेरै सिट आउने दाबी गर्दै गगन थापा सोही रणनीतिअनुसार अघि बढेका छन् । यसले सत्ता गठबन्धनका शीर्ष नेताहरुमा तरंग ल्याएको छ । यसले प्रचण्ड र माधव नेपाल मात्रै होइन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि तरंगित छन् ।

यद्यपी एमसीसी प्रकरणमा परिपक्व रणनीतिअनुसार गठबन्धन जोगाएका गगनको रणनीतिक योजनामा अघि बढ्दा कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्नेमा देउवा विश्वस्त छन् ।

आइतबार​ २२ फागुन २०७८ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया