×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष दलका नेताहरुसँग भेट्न नचाहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको आफुले सुनेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । प्रचण्डले भने- 'मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि । प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्री त्यस्तो भाषा भन्नु भएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन ।' प्रचण्डले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन आफुहरुले भूमिका खेलेको बताउँदै संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको बताए ।

२-  नेपालले आइसीसी विश्वकप लिग-२ को सिरिजका चारै खेलमा हार बेहोरेको छ । युएईमा बुधबार सम्पन्न सिरिजको अन्तिम खेलमा युएईसँग ४ विकेटले हार बेहोरेपछि नेपालले सिरिजका चारै खेलमा हार बेहोरेको हो । यस खेलमा नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो । यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्बाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ सेखले ३४, आरिफ सेखले ३० रन र सन्दीप लामिछानेले १५ रन बनाएका थिए । त्यसैगरी जुनैद सिद्धिकी, मुहमद जवादुल्लाह र ध्रुव पराशरले २-२ विकेट लिएका थिए भने जहिद अलिले एक विकेट लिएका थिए । यो जितपछि युएईको २० खेलमा १० अंक भएको छ र अंक तालिकामा पुछारमै रहेको छ । त्यस्तै नेपालको भने २० खेलमा १२ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

३- पक्राउ परेका डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत काठमाडौँले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं ल्याइएको थियो ।

४- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरूलाई देशको एक नम्बर दल बन्न कसैले रोक्न नसक्ने दाबि गरेका छन् । बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले अब आफुहरु देशको सबैभन्दा बलियो शक्ति बन्ने दाबी गर्दै यसमा कसैले रोक्न नसक्ने बताएका हुन् । सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कमजोरी सच्याउनुको कुनै विकल्प नभएको बताउदै नेता कार्यकर्ताका सल्लाह र सुझावलाई गम्भिरतापुर्वक लिने बताएका छन् । प्रचण्डले भने- 'सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु । यो हाउसमा भएका कमरेडहरूले बेहिज्जत आलोचना, टिप्पणी सुझाव राख्नुहोला । अब हामीलाई कमजोरी सच्याउनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन ।’ त्यस्तो प्रचण्डले नेता बामदेव गौतमले सोधेको प्रश्नको जवाफ दिदै पार्टीको उत्पादन हेर्ने जिम्मा गौतमलाईनै दिने सोचेको बताएका छन् । यसअघि गौतमले सम्बोधनका क्रममा प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई प्रधानमन्त्री हुँदा संविधानले प्रस्तावनामै लेखिएको समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रचण्डले भने- 'हामीलाई के गर्छौँ मात्रै होइन, तपाई पनि त नेता हो नि । तपाइले पनि गर्नुपर्छ । तपाईँले समाजवादबारे लेखेको किताब मैले हेदैछु । उत्पादनकै जिम्मा तपाइँलाई नै दिनुपर्छ भन्ने सोचेको छु । तपाईँले समाजवादबारे लेखेको किताब अनुसार वातावरण बनाउन तयार छौँ ।’ प्रचण्डले अब तल्लो स्तरसम्म गएर चुनावको माहोल बनाउनुपर्ने बताएका छन् ।  साथै आफु र माधव नेपाल लामो समयसम्म नेतृत्वमा बसिरहनु पर्छ भन्नेमा नरहेको भन्दै यस विषयमा पनि पार्टीमा छलफल गर्न आग्रह गरेका छन् । 

५- म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबारका अनुसार अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काममा लगाइएका १४ नेपालीको उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको छ । दुताबासले म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए । उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको दुताबासले जानकारी दिएको छ । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गरेको छ । 

६- चीनले अमेरिकी सामानहरूमा थप २४ प्रतिशत कर एक वर्षको लागि निलम्बन गर्ने घोषणा गरेको छ । यो निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । चीनको राज्य परिषद्को कर आयोगले राष्ट्रपति डोनाल्ड ट्रम्पको ​करको प्रतिक्रियामा लगाइएको १० प्रतिशत कर तत्कालका लागि कायम रहने बताएको छ । आयोगले केही अमेरिकी कृषि उत्पादनहरूमा १५ प्रतिशतसम्मको कर पूर्ण रूपमा हटाउने घोषणा पनि गरेको छ । यी उही उत्पादनहरू हुन् जुन चीनले मार्चमा घोषणा गरेको थियो । यस निर्णयसँगै, चीनले व्यापार तनाव कम गर्न कदम चालिरहेको संकेत गरेको छ, यद्यपि दुई देशहरू बीचको कर विवादको पूर्ण समाधान हुन केही समय लाग्न सक्ने बताइएको छ । यी राहतहरूको बावजुद, अमेरिकी भटमास अझै पनि १३ प्रतिशतको कुल करको अधीनमा रहनेछ, जसमा अवस्थित ३ प्रतिहत आधार कर समावेश छ । यसले अझै पनि अमेरिकी भटमासलाई महँगो बनाउनेछ, विशेष गरी जब ब्राजिलबाट आयात गरिएको भटमास सस्तो हुन्छ । यसको अर्थ चीनले धेरैजसो अमेरिकी सामानहरूमा १० प्रतिशत कर लगाउन जारी राख्नेछ । थप २४ प्रतिशत कर हाल निलम्बित छ, अर्थात् यो लागू भएको छैन । 

७- सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

८- नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ । त्यस्तै सम्मेलनले नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे प्रतिबद्धता जारी गरिएको छ । प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ । यसअघि यो एकताप्रति असहमति राखेका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।

९- नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार ८१४ मा कारोबार भएको थियो । आज होटल्स र म्युचल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज माबिलुंग इनर्जीको ९.९९ र उन्नति सहकार्य लघुवित्तको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ७.४८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३८ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ३२ करोड ७० लाख बराबरको कारोबार भएको छ ।

१०- झलनाथ खनालले आफ्ना कुरा सम्बोधन गर्ने प्रचण्डको प्रतिबद्धतापछि आफु एकता राष्ट्रिय सम्मेलनमा आएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले आफुले पार्टी फुटोस भन्ने कहिले नचाहेको बताउदै नयाँ संकल्प लिएर अगाडी बढ्नुपर्ने बताए । उनले भने- म केहि ढिलो आएकै हो । ढिला आउनुको केहि कारणहरु छन् । मैले प्रचण्डलाई सबै कुरा भनेको छु । हामी त्यो कुरा मिलाउछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । म त्यहि विश्वासको आधारमा केहि रिजर्भेसन भएपनि एकतामा बल पुर्याउन यहाँ आएको हो ।' नेता खनालले संसद भवन, सर्वोच्च अदालत र नेताहरुका घर जलाइएपनि नेपाली जनताको क्रान्त्रिकारी भावना कसैले जलाउन नसक्ने बताए ।

११- सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार सर्वोच्चको प्रधान्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संबैधानिक अदालतले प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए । पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनले दाबी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ । 

१२-  बहुविवाह मुद्धामा पक्राउ परेका नेकपा एमालेका नेता पासाङ शेर्पालाई डिल्लीबजार कारागार चालन गरिएको छ । मंगलबार पक्राउ परेका शेर्पालाई बुधबार अदालतमा पेश गरिएको थियो । एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ मा एक बर्ष कैदसहित ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । सोहि आदेश अनुसार अदालतले उनलाई कारागार चलान गरेको हो ।  जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरे पनि उच्च अदालत पाटनले जिल्लाको फैसलालाई सदर गरेको थियो ।

१३-  भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ । लामिछानेलाई नख्खु कारागारबाट बयानका लागि सिंहदरबार ल्याइएको थियो । जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिन लागेको हो । आयोगले यस अघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् । लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट ११ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए । पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए ।

१४- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । मन्त्री घिसिङले आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गरी आयोजनालाई यथास्थितमा राख्न नहुने उल्लेख गर्दै लगानी मोडालिटीका विषयमा तत्काल निर्णय गरिनुपर्ने बताए । घिसिङले आयोजनाको वित्तीय विश्लेषणमार्फत लगानी मोडालिडी तत्काल तय गरी पेश गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गरे । परामर्शदाताले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको छ । हालको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ३२ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ ।  कम्पनीले लगानीका सरकारबाट सम्भाव्य पूर्ति लगानी भिजिएफ उपलब्ध हुँदा र नहुँदाका दुईवटा मोडालिटी तयार गरेको छ । पहिलो विकल्पमा सरकारले भिजिएफ उपलब्ध नगराएमा इक्विटी र ऋणको अनुपात क्रमश ः २५ र ७५ प्रतिशत रहने प्रस्ताव गरिएको छ । यसका लागि जग्गा प्राप्तिलगायतका काममा सरकारबाट भएको खर्चलाई इक्विटीमा समावेश गरी थप र सहुलियतपूर्ण ऋण लगानीको रुपमा उपलब्ध हुनुपर्ने प्रस्ताव गरिएको छ । दोस्रो विकल्पमा भिजिएफ उपलब्ध भएमा इक्विटी र ऋण अनुपात क्रमशः ३० र ७० प्रतिशत रहने प्रस्ताव गरिएको छ । जग्गा प्राप्ति, सार्बजनिक पूर्वाधारहरुको पुनस्र्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगको लागि खर्च बापतको आवश्यक ७३ अर्व रुपैयाँ सरकारले अतिसहुलीयतपूर्ण ऋण भिजिएल  प्रदान गर्नुपर्ने प्रस्ताव गरिएको छ ।  इक्विटी वापतको रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारण नागरिकबाट सङ्कलन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेण्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलफूलको क्षतिपूर्ति बापत जग्गाधनीलाई ४२ अर्ब ६५ रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रुपमा गोरखा र धादिङका ८ हजार एक सय १७ घरपरिवारका प्रभावित हुने छन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रुपमा विस्थापित हुने छन् । काठमाडौं, चितवन, पोखरा जस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि २६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साबिका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुने छन् । बाँध बाँधेपछि धुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलने छ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालनलगायतका लाभ लिन सकिने अवस्था छ । आयोजनाको अधिकतम जलशतह ५४० मि.सम्म रहने छ । आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने छ ।

१५-  नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीको अध्याय समाप्त भएको बताएकी छन् । बुधबार बिहान पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटन भएसँगै आफुहरुको यो अभियान यहि टुंगिएको बताएकी छन् । आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर अहिले बिघटनको अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले भनिन्- 'यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो । यसअघि हामीले त्यसलाई टुंगाउन विविध कारणले सकेनौं । तर अहिले आएर हाम्रो अभियान विघटन भएको छ । आज जेनजी आन्दोलनको पृष्ठभूमिमा जे जे कुराहरु भए, यो अवस्था ल्याउन हाम्रो पनि केहि भूमिका थियो की, त्यसका लागि माफी चाहन्छौं । हामीले पनि गरेका गल्तिलाई सुधार्न आवश्यक छ ।' झाँक्रीले आफ्नो पार्टी विघटन भएको र नयाँ बाटोमा जादा एकीकृत समाजवादीमा संगठित भएका सबै नेता कार्यकर्ता एकठाउमा उभिएर सामुहिक पाइला अगाडी बढाउने बताएकी छन् । विभाजनले किमार्थ शक्ति नदिने भन्दै विचार मिल्नेबीच एकता भएर सबै पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने धारणा राखेकी छन् ।  जेनजी आन्दोलनपछि नयाँ दल बनाएर सफल नहुने दाबी गर्दै नेतृ झाँक्रीले युवा पुस्तालाई सके पार्टी बनाएर हस्तक्षेप गर्नु नसके पुरानै विचार मिल्ने दलमा गएर हस्तक्षेप गर्न सुझाव दिएकी छन् ।

१६- फिलिपिन्समा कालमेगी आँधीबाट अहिलेसम्म ५२ जनाको ज्यान गएको छ । शक्तिशाली आँधीका कारण लाखौं घरबारविहीन भएका छन् । हाल १३ जना अझै बेपत्ता रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ । धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ । त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ३७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २९९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३०१५ मा कारोबार भएको थियो ।

१८-  नेकपा एकीकृत समाजवादी पार्टीका नेता किसान श्रेष्ठले आफुहरु एमालेमा बिना शर्त फर्किने बताएका छन् । बुधबार बिहान पत्रकार सम्मलेनमा बोल्दै श्रेष्ठले आफुहरुलाई एमालेमा केहि नचाहिने, सम्मानजनक व्यबहार र हासेर बोलिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् । श्रेष्ठले आफुहरु एमालेमा फर्किन छलफलमै रहेको बताउदै आफुहरुलाई केहि नचाहिने बताए । एकीकृत समाजवादी र माओवादी केन्द्रसहित ९ बाम घटकबीच आजै एकता घोषणा हुनु अघि नेता श्रेष्ठ र रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने घोषणा गरेका छन् । 

१९- ३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कको सबैभन्दा कान्छो मेयर र पहिलो मुस्लिम तथा दक्षिण एसियाली-अमेरिकी मेयर बनेका छन् । ममदानीको जितपछि उनका समर्थकहरू खुशीले उत्सव मनाइरहेका छन् । ममदानीले भेट्रान राजनीतिज्ञ एवं पुर्व गर्भार्ण एन्ड्रयू कुओमोलाई पराजित गरेका छन् । डेमोक्र्याटिक प्राइमरीमा ममदानीसँग हारेर कुओमो स्वतन्त्र उम्मेदवारको रूपमा उत्रिएका थिए । त्यस्तै कर्टिस स्लिवा रिपब्लिकन उम्मेदवार थिए । स्लिवाले आफ्नो हार स्वीकार गरेका छन् र ममदानीलाई बधाई दिएका छन् ।

२०- भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको छ । रुपन्देहीमा अवस्थित फूट च्वाइस फुड्स प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसीलाई दुई कन्टेर अर्थात् ४३ हजार पाँच सय २० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको हो । भैरहवा भन्सार कार्यालयका अनुसार, नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएको छ । यसबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशिलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको भन्सार कार्यालयले जनाएको छ । अमेरिकी बजारमा नेपाली फ्रेन्च प्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनको विश्वबजार विस्तारको ढोका खोल्ने विश्वास लिइएको छ । भैरहवा भन्सार कार्यालय निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको भन्सार कार्यालयले जनाएको छ । निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जानेतर्फ प्राथमिकतामा रहने समेत भैरहवा भन्सार कार्यालयले स्पष्ट पारेको छ ।

 

बुधबार २० कात्तिक २०८२ ०८:४७ PM मा प्रकाशित

प्रतिक्रिया