×

शेखर गोल्छालाई म्याद थप गर्न अदालतकाे अस्वीकार

images

काठमाडौ। जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ।अदालतको उक्त आदेशसँगै अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतबाट मुक्त गर्दै अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी गरिएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो। आदेशमा उल्लेख छ कि प्रतिवादीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने आवश्यक अवस्था नदेखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) अनुसार म्याद थप गर्न नमिल्ने ठहर गरिएको छ।

यसअघि सोमबार सर्वोच्च अदालतले धितोपत्रसम्बन्धी कसुरमा धरौटी वा जमानतको विकल्प हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान गरिएको भन्ने विषयमा प्रश्न उठाएको थियो।

सर्वोच्च अदालतको आदेशपछि सीआईबीले गोल्छामाथि धितोपत्रसम्बन्धी कसुरको सट्टा बीमासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको भन्दै उनलाई रिहा नगरेको थियो। तर बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्दा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेपछि अब उनलाई हिरासतमा राख्न नमिल्ने भएको छ।

मङ्गलबार २२ बैशाख २०८३ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया