×

वीरगञ्जमा कर्फ्यू आदेश जारी

images

काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।

यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ । 

प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ। दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ। सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार २१ पुस २०८२ ०६:४९ PM मा प्रकाशित

प्रतिक्रिया