काठमाडौं । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन् ।
कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए । विशेष महाधिवेशनको दवाव दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ । उनले बहुमतको शक्तिका साथ आफुहरु महाधिवेशनको तयारीमा जुट्ने धारणा व्यक्त गरे ।
महाधिवेशनमा आफुहरुको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए । उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए । घिमिरेले अव निर्वाचन क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्ने, विधान सुधारमा छलफल गर्ने तथा आगामी राजनीतिक दिशा-निर्देशन तय गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी विभिन्न जिल्ला, क्षेत्रीय र भ्रातृ-संगठनका प्रतिनिधिहरूले महाधिवेशन तयारीका सम्बन्धमा आफ्ना सुझाव, गुनासो र अपेक्षाहरू प्रस्तुत गरेका थिए। उनीहरूले सभासद् चयन प्रक्रिया, सदस्यता नवीकरण, आन्तरिक संगठन विस्तार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा थप पारदर्शिता र गतिशीलता आवश्यक भएको धारणा राखेका थिए।
प्रतिक्रिया