×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा आफ्नै आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दर्ता गर्ने अस्वीकार गरेको छ ।  सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले हिजैमात्रै मन्त्रालयमा हाजिर हुनेगरी फिर्ता आउन पत्राचार गरेपछि सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा पेश भएको थियो ।  ‘मुद्दा पेश गरेका हौं । तर जेनजी आन्दोलनका कारण रिट वाहेकका निवेदन दर्ता नहुने सर्वोच्चको नीति भएकोले दर्ता गर्न मिलेनभन्दै हामीलाई फर्काइएको छ’, अधिवक्ता अनन्तराज लुईंटेलले बताए । ‘अवहेलनाको मुद्दा दर्ता गर्नेगरी सर्वोच्चको पूर्ण सेवा कहिले सुरु हुने अनि मात्रै दर्ता हुने नहुने निक्यौल हुने भनिएको छ ।’ विहान ११ बजे नै ३ वटा अवहेलनाका मुद्दा सर्वोच्चमा पेश भएतापनि सर्वोच्चले आलटाल गरेर फिर्ता गरेको कानुन व्यवसायीहरुको गुनासो छ । न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने हिजैमात्रै परराष्ट्र मन्त्रालयको च.नं. ३४२५ मिति २०८२ कात्तिक १७ को पत्राचार मार्फत एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्राचार गरिसकेको छ । सर्वोच्चको आदेशको विरुद्ध भएको पत्राचारले अदालतको अवहेलना भएको दावी सहित अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती, विशाल थापाले एउटा र लक्ष्मी प्रसाद रेग्मी र सुनिल भट्टराईले छुट्टछुट्टै गरी ३ वटा अवहेलनाका निवेदन आजै पेश भएका थिए । प्रधानमन्त्री र परराष्ट्र्मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ ।

२- जनता समाजवादी पार्टी, नेपालले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएको एकता घोषणा र नयाँ दलको चुनाव चिन्हमा प्रस्तावित पाँच ताराप्रति आपत्ति जनाएको छ । रास्वपाका प्रवक्ता मनिष कुमार सुमनले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्नो दलको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रुपमा प्रयोग नगर्न अनुरोध गरेका छन् ।

३-  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

४- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनका दुई कार्यतालिका पेश गरिएको छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टा छुट्टै महाधिवेशनको कार्यतालिका पेश गरेका हुन् । महामन्त्री थापाले फागुन २१ को चुनावअघि नै महाधिवेशन गर्ने गरि पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । थापाले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण, २० गते सम्म क्रियाशील सदस्यता छानबिन, २४ गते निर्वाचन समितिलाई हस्तान्तरण गर्ने, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन गरेर १६ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।  त्यसैगरी संस्थापन पक्षको तर्फबाट सहमहामन्त्री यादवले मंसिर २० गते सम्म क्रियाशील नवीकरण, पुस ५ गतेसम्म नयाँ वितरण र २० गते सम्म निर्वाचन समितिलाई हस्तान्तरण गर्ने र त्यसपछि चुनावमा केन्द्रीत हुनुपर्ने प्रस्ताव गरेका छन् । त्यसपछि चैत्र १ गते वडा अधिवेशन, ५ गते पालिका, १२ गते प्रदेश क्षेत्रीय, २० गते संघीय क्षेत्रीय, ३० गते जिल्ला, वैशाख १५ गते सात प्रदेश र वैशाख २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । बैठकमा दुई कार्यतालिका आएपछि नेताहरूले धारणा राख्न शुरु भएको छ ।  त्यस्तै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिसकेकाले यो विषयलाई पनि टुंगाउनुपर्ने दबाब यो बैठकलाई रहेको छ । कांग्रेसको यो केन्द्रीय समितिको पदावधि यहि मङ्सिरसम्म मात्र रहेको छ ।

५- गोरखामा पक्राउ परेका डा. निकोलस भुसाललाई काठमाडौं पठाइएको छ । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका-८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं पठाएको छ । निकोलस भुसालले देशको र शहिदको पक्षमा आवाज़ उठाऊँदा पक्राउ परेको बताउदै यो देशका सर्वसाधारणको स्थिति के होला भन्दै प्रश्न अग्रेका छन् । उनले एक महीनादेखि बिद्रोह गर्दा सरकारले नसुनेको एउटा गुण्डू समूहकों आदेश मानेको आरोप लगाएका छन् ।

६-  राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आएका राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्र संघसँग निकट रही काम गर्न नेपाल तयार रहेको बताएका थिए । 'गत सेप्टेम्बरमा भएको जेनजी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकांक्षा पूरा गर्न हामी प्रतिबद्ध छौं,' भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको मात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताए । पौडेलले भने- ‘हामीले जेनजी आन्दोलनबाट मुलुकलाई सुरक्षित अवतरण गराएका छौं । नेपालको संविधान र लोकतन्त्रको रक्षा गरेका छौं ।' कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीररूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा रहेको उनले बताएका थिए । सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले  जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै  कार्वन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिएको प्रेस सल्लाहकार पोखरेलले बताए। उनले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताए। उनले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैं समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताए ।

७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, वडा अध्यक्ष जगदिश मंडलसमेत ८ जना र कन्सल्टेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले सप्तरीको महादेवा गाउँपालिका-२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको हो । मुद्धा दायर भएकामा कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि अर्थ विज्ञ-योजना प्रमुख विकास कुमार साह, लेखा अधिकृत (छैठौ) चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका-२ का वडा अध्यक्ष  जगदिश मंडल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेव-२, कजौली, सप्तरीका अध्यक्ष हरि नारायण यादव, सचिव गगांराम यादव र कोषाध्यक्ष सावित्री देवी यादव, कृषि  विकास  निर्देशनालय, नक्टाझिज, धनुषाका  परामर्शदाता  किरु इन्जिनियरिङ्ग  कन्सल्टेन्ट प्रालि र सो प्रालिका  प्रोप्राइटर  हरिश कुमार सिंह रहेका छन् । उनीहरुविरुद्ध जनही ६ लाख ९० हजार ६५७ रकम बिगो दाबि गर्दै कानुन अनुसारको सजायको माग गर्दै मुद्धा दायर गरको छ ।

८- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी पंक्तिलाई छलफलमा बसेर धैर्यताका साथ संवाद जारी राख्न अपिल गरेकी छन् । नेतृ झाँक्रीले सामाजिक सञ्जालमा आग्रह, पुर्वाग्रह त्यागेर यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउनुपर्ने भन्दै अहिले हतार गर्नुपर्ने कुनै कारण नभएको बताएकी छन् । राजनीतिक जीवनमा उतारचढाव आउने भन्दै हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्:  राजनीतिक जीवनमा उतारचढाव त आउँछ नै। हरेक मान्छेमा बैचारिक भिन्नता हुन्छ। बिचारमा मतभेद हुन्छ। कार्यशैली फरक हुनसक्छ। हरेक अवस्थालाई व्यवस्थापन गरेर अगाडि बढ्नसक्ने र देशको तत्कालीन अवस्थालाई बुझेर सहि निर्णय लिनु नै नेतृत्वको मापन हो। त्यसकारण हाम्रा विचमा कयौँ मतभेदहरू होलान्, त्यसको बाबजुद हामी सबै छलफलमा बसौं। आग्रह/पुर्वाग्रह त्यागौं । यो आन्दोलनलाई सहि दिशामा पुर्‍याउँ। हतार गर्नुपर्ने कुनै कारण छैन। धर्यताका साथ संवाद जारी राखौं।  हामीले लिन खोजेको निर्णयहरू नै सहि निर्णय हुन् । आजको आवश्यकता पनि यहि हो। तर निर्णयमा पुग्न केही समय लाग्न सक्छ नि !

९-  नेकपा माओवादी केन्द्रसहित ८ दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् । प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने बताएका हुन् । आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

१०- माओवादी नेता जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका शर्माले चण्डले आफूलाई माधव नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाउदै महाधिवेशन गर्न छोडेर एकताको नाटक गरेको बताए । उनले भने- 'माओवादी आयोजक समितिको रूपमा रहेको थियो । तर, क्षेत्राधिकार क्षेत्र बाहिर गएर एकताको नाटक गरियो । आयोजक समितिले महाधिवेशन गर्नुपर्ने थियो । तर, महाधिवशेन टार्नलाई एकताको नाटक गरियो ।' साथै शर्माले प्रचण्डले आफ्नो स्वार्थकेन्द्रित समूहलाई वरिपरि राखेर पार्टीलाई बर्बाद बनाएको आरोप लगाए । उनले भने- 'यो एकताले देशलाई न निकास दिन्छ, न जनताको समर्थन प्राप्त गर्नेछ। पार्टी एकताको नाममा अहिल्यै भद्रगोल सुरू भइसक्यो। हजारौंका समिति बनिहेका छन्। त्यसले विधिहीनताको सुरुवात गर्नेछ ।' शर्माले आफुहरुले नयाँ पार्टी नखोल्ने भन्दै 'प्रगतिशील अभियान नेपाल' को घोषणा गरेका छन् । उनले यस अभियानमा सबै वर्ग, जाति र लिंगलाई समेटेर नयाँ संरचना बनाएर अगाडि बढ्ने बताए । शान्ति प्रक्रियाको बाँकी कामको जिम्मा लिएर आफूहरू अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  शर्माले समर्थक र कार्यकर्ताको दुरुपयोग गरिएको भन्दै त्यसमा आफुहरुको पनि केगल्ती कमजोरी रहेको भन्दै क्षमा मागेका छन् । शर्माले नयाँ पुस्तालाई पारदर्शीताको सवाललाई अगाडि बढाउन चाहेको भन्दै भ्रष्टाचारलाई मुक्त गर्ने अभियानमा सरिक हुने बताए । शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्र राम कार्की र अन्जना विशंके पनि उपस्थित थिए ।

११- नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज माबिलुंग इनर्जीको ९.९८ र फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ९.२० प्रतिशतले घटेको छ । त्यसैगरी आज मुक्तिनाथ कृषि कम्पनिको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड बराबरको कारोबार भएको छ भने राढ़ी विद्युतको २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

१२- सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले शाक्यको रिटमा कारण देखाउ आदेश जारी गर्दै उनलाई हटाउनुको कारण सोधेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि घिसिङ सरकारमा उर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा उर्जा आयोगमा पठाउने निर्णय गराएका थिए । शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ ।

१३- गोरखाको पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोही मृत भेटिएका छन् । कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन नागरिक ५१ वर्षका फार्नातो स्तेफानो र २८ वर्षका कापुतो आलेस्सान्द्रो मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कात्तिक १ गते पिक आरोहणका लागि पुगेका उनीहरू मंगलबारदेखि भएको  हिमपातपछि पिकमा फसेका थिए । प्रहरीले दुवैको शव हिउमा पुरिएको अवस्थामा फेला परेको र हाल सामागाउँको हेलिप्याडमा ल्याइएको बताएको छ ।

१४- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणालाई गुटका भेला बन्द गर्न चेतावनी दिएका छन् । शाहीले अहिलेको अवस्थामा राष्ट्रवादीहरु फुटेर होईन जुटेर अगाडि बढने हो भन्दै मिलेर जान नसके युवाहरुको भविष्य बर्बाद गर्ने अधिकार नरहेको बताएका छन् । उनले भनेका छन्:  राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस यसरी गुट- उपगुटका भेला  तत्काल बन्द गर्नुहोस । यस्तो अवस्थामा राष्ट्रवादीहरु एक ढिक्का हुने हो फुटेर होईन जुटेर अगाडि बढने हो । यदि तपाईहरु मिलेर जान सक्दैनौ भने युवाहरुको भविष्य बर्बाद  गर्ने  तपाईंहरुको  अधिकार छैन ।

१५- शिक्षा मन्त्री महावीर पुनले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । मन्त्री पुनले नयाँ बानेश्वर पुगेर चुनावमा भोट दिन पहिलो पटक नाम दर्ता गराएका हुन् । साथै पुनले जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न अनुरोध पनि गरेका छन् । पुनले भनेका छन्:  आहा ! आम चुनावमा भोट दिनको लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ बर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाई बहिनीहरुलाई अल्छी नगरिकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु । अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ । भगवान कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुइ सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य सबित भैसक्यो । लौ त भाई बहिनीहरु भोटर लिस्टमा नाम लेखाउन गैहाल त ।

१६- नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ ।  बुधबारदेखि लागु हुने गरि ११ कार्यकारी निर्देशकको सरुवा गरिएको हो । जसअनुसार विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ भने भुक्तानी प्रणाली विभागमा रहेका किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा लागिएको छ ।  त्यस्तै वित्तीय संस्था सुपरिभिजन विभागमा रहेका सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागमा लगिएको छ । त्यसैगरी  मानव संशाधन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिभिजन विभागमा पठाइएको छ । त्यस्तै हाल बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेका गुरुप्रसाद पौडेललाई मानव संशाधन विभागको जिम्मेवारी दिइएको छ । त्यसैगरी हाल मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाइएको छ । यसैगरी, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा लागिएको छ भने हाल गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा लागिएको छ । त्यस्तै हाल मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नर कार्यालयको जिम्मेवारी दिइएको छ भने हाल बैकिङ विभागमा रहेका डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ । त्यसैगरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशनकुमार सिग्देललाई बैकिङ विभागकोजिम्मेवारी दिइएको छ ।  १७ जना कार्यकारी निर्देशक रहेको नेपाल राष्ट्र बैंकमा एकैदिन ११ जनाको सरुवा गरिएको छ भने ६ जनालाई यथावत राखिएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६० मा कारोबार भएको थियो ।

१८- पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्न पाउने उमेर १६ बर्ष र उम्मेदवार हुन पाउने उमेर कम्तिमा २१ बर्ष गर्नुपर्ने बताएका छन् । डा. भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुने धारणा राख्दै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुने र निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक रहेको बताएका हुन् । उनले भनेका छन्:  यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेन-जी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु  उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ । यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेन-जी युवाहरूलाई आसन्न निर्वाचन 'जसको विहा उसैलाई नजिक नल्या'  भन्ने लोकोक्ति जस्तो हुनेछ ।

१९- अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । नेपालका भेट्रान डिफेन्डर अनन्त तामाङले एन्फाको निर्णयप्रति असन्तुष्टि जनाउदै खेलाडीलाई जिउदै नमार्न आग्रह गरेका छन् । अनन्तले खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गरेको उल्लेख गर्दै आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि भएको र आज साविक विजेता त्याग भारी भएको बताएका छन् । अनन्तले भनेका छन्:  हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थें, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्द रहेपनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन । लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौ खेलाडीको लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस् । सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरेपछि यसको आलोचना भइरहेको छ ।

२०- अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्ष २०८३ पुस ९ गतेबाट राष्ट्रिय लिग हुने घोषणा गरेको छ । सोमबार एन्फा कार्यालयमा बसेको ए डिभिजन क्लबहरू र एन्फाबीच भएको सम्झौता अनुसार आगामी पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय गरको हो । ए डिभिजन लिग भने होमेन अवे फर्म्याटमा अर्को वर्षको पुस ३ गतेबाट सुरु हुने भन्दै विज्ञप्ति सार्वजनिक गरिएको छ । एन्फाद्वारा आयोजना हुने राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट कप समेत हुनेछ। जसबाट चार टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने बताइएको छ । आगामी पुसमा हुने राष्ट्रिय लिगमा ए डिभिजन लिगको शीर्ष ६ टोली चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, सादोबाटो युथ क्लब र एनआरटी रहने छन् । प्रेसिडेन्ट लिगबाट शीर्ष चार टोली आउनेछन्। जसबाट कुल १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने छन्। आगामी पुस ९ गतेबाट हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा भाग लिन पाउनेछ ।

मङ्गलबार १९ कात्तिक २०८२ ०९:५८ PM मा प्रकाशित

प्रतिक्रिया