काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन् ।
बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएका हुन ।
‘पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ । पार्टी एकतावद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले भूराजनीतिक स्थितिका कारण राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको र राष्ट्रियता, जनजिविकाका सवालहरु दिन प्रतिदिन पेचिलो बन्दै गएको बताए।
‘यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्नपर्छ,’ उनले भने।
त्यस्तै जनताका समस्याहरुको तथ्यांक संकलन गर्ने, सदनलाई प्रभावकारी बनाउने, अन्तरक्रिया छलफल गर्नुपर्ने प्रचण्डले बताए।
‘पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरुलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ । अब जनताको हक अधिकार खोसिने आशंका भएको छ । जनतामा आक्रोश पनि बढिरहेको छ,’ उनले भने।
प्रतिक्रिया