×

भारतमा जीएसटी करमा व्यापक सुधार: तल्लो र मध्यम बर्गलाई फाइदा

images

काठमाडौँ । भारतमा जीएसटी करको दरमा हेरफेर गरिएको छ । जीएसटी परिषद्को ५६औं बैठकले १२ प्रतिशत र २८ प्रतिशत कर स्ल्याब हटाउने प्रस्तावलाई अनुमोदन गरेको अर्थमन्त्री निर्मला सितारमणले जानकारी दिएकी छन् । यस सुधारलाई 'नेक्स्ट जेनेरेसन जीएसटी रिफर्म' नाम दिइएको छ ।   

उनले विद्यमान संरचनालाई सरल बनाउन सेप्टेम्बर २२ देखि ५ प्रतिशत र १८ प्रतिशत गरी जीएसटीमा दुई स्ल्याब मात्र लागू गरिने बताएकी छन् । यसले लगभग १७५ वस्तुहरू सस्तो बनाउने दाबि गरिएको छ । अर्थमन्त्री सीतारमणले दूध, रोटी, पिज्जा, चेन्ना लगायत धेरै खाद्य वस्तुहरू जीएसटी मुक्त हुने बताइन् । यस बाहेक, सिमेन्टमा कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ । यस बाहेक, विलासिताका वस्तुहरू र सुर्तीजन्य पदार्थहरूमा ४० प्रतिशत जीएसटी लगाइनेछ । यो बैठक दुई दिन (३-४ सेप्टेम्बर) को लागि आयोजना गरिने थियो, जुन एकै दिनमा सम्पन्न भएको छ ।

अब भारतमा दूध, छेना र पनीर, सबै भारतीय रोटी, रोटी, पराठा, चपातीमा कर नलाग्ने भएको छ । त्यस्तै हाल १२ देखि १८ प्रतिशतसम्म जीएसटीलाग्दै आएका खाद्य वस्तुहरू - सस, पास्ता, कर्नफ्लेक्स, घिउ, बटर, इन्स्ट्यान्ट चाउचाउ, चकलेट, कफी र संरक्षित मासुमा अब केवल ५ प्रतिशत जीएसटी लाग्ने छ । त्यस्तै हाल २८ प्रतिशत जीएसटी लाग्दै आएका एयर कन्डिसनर, ३२ इन्च भन्दा ठूला टिभीहरू, भाँडा धुने मेसिनहरू, साना कारहरू, ३५० सीसी वा सोभन्दा कम मोटरसाइकलहरू सबैमा १८ प्रतिशत मात्र लाग्ने छ ।

जीएसटीको संरचनामा सुधार गर्ने निर्णयहरूको घोषणा गर्दै अर्थमन्त्री सितारमणले जीएसटी स्थिर र स्थायी रहोस् भन्ने कुरा सुनिश्चित गर्ने बताएकी छन् । उनले जीएसटी क्षतिपूर्ति सम्बन्धी पनि कदम चालिरहेको बताउदै जीएसटीका सबै सुधारहरू आम मानिसलाई ध्यानमा राखेर गरिएको बताएकी छन् । श्रममा आधारित र मजदुर-किसान आधारित क्षेत्रहरूलाई सुदृढ पार्न ध्यान दिइएको बताउदै उनले यस बाहेक स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णय गरिएको बताएकी छन् । 

बिहीबार १९ भदौ २०८२ ०७:१० AM मा प्रकाशित

प्रतिक्रिया