काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको मुख्य कम्पनि मेटा सरकारको सम्पर्कमा आएको छ । मेटाको सिंगापुरस्थित कार्यालयका कर्मचारीले सञ्चार मन्त्रालयमा सम्पर्क गरेर दर्ता हुने विवरण मागेको प्रवक्ता गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिएका छन् । मेटाका एक कर्मचारीले मन्त्रीका स्वकीय सचिवसँग दर्ता गर्ने विवरण माग गरेपछि सो विवरण इमेलमार्फत पठाएको उनले जानकारी दिएका छन् । मन्त्रालयले आजै २६ सामाजिक सञ्जाल कम्पनिलाई बन्द गर्न दिएको निर्देशन बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिलाई ति सामाजिक सञ्जाल निष्क्रिय गराउन पत्राचार गरिसकेको छ ।
२- नेपाल दूरसञ्चार प्राधिकरणले २६ सामाजिक सञ्जाल कम्पनिलाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको छ । प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । प्राधिकरणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो । यसअघि भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयको आधारमा अन्तिमपटक सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन ७ दिनको समय दिदै भदौ १२ गते सूचना प्रकाशित गरेको थियो । बुधबार राति १२ बजे सो समयसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनि दर्ता नभएपछि सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयको बिहीबार बसेको बैठकले ती सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने निर्णय गरेको थियो ।
३- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जालका बारेमा गरेको निर्णय गलत भएको टिप्पणी गरेका छन् । महामन्त्री थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै सरकार उल्टोबाटो हिडेको उल्लेख गर्दै यसलाई पुनर्विचार गर्नुपर्ने बताएका छन् । उनले सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको उल्लेख गर्दै यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउनु पर्ने बताएका हुन् । उनले भनेका छन्- सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ । आजको दिनमा सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको छ। सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ। सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्छ । सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिम सँग समेत जोडिएको छ । हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ । त्यसैले सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस ।
४- संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिका लागि नेपाली कांगेसका सांसद रामहरी खतिवडाको मात्र उम्मेदवारी दर्ता भएको छ । संघीय सम्सद सचिवालयका अनुसार विहिबार अपराहन्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएकोमा खतिवडाको मात्र मनोनयन दर्ता भएको हो । खतिवडाको प्रस्तावकमा काँग्रेस सांसद श्याम घिमिरे रहेका छन् भने समर्थकमा एमाले सांसद महेश कुमार बर्तौला रहेका छन् । योसँगै संसदीय सुनुवाई समितिको सभापतिमा खतिवडा निर्बिरोध निर्वाचित हुने भएका छन् । अब शुक्रबार बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकले खतिवडा सभापतिमा निर्वचित भएको औपचारिक निर्णय गर्ने छ । यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
५- काठमाडौँ महानगरमा मेयर बालेन सरकारले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णय गरेपछि कविता लेख्दै व्यंग्य गरेका छन् । बालेनले बाटोमा ढाट लागेपछि भोलीबाट सपनामा भेट होला भनेका छन् ।
उनले लेखेका छन्-
भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबीच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।
६- आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ । आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
७- अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काइ ट्रक 'हेलिकोप्टर' हस्तान्तरण गरेको छ । विहिबार अमेरिकी राजदूत डिन आर थम्पसनले उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन् । यी स्काइ ट्रक विपद् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेका नायब सुब्बा राम प्रसाद धमला घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले नायब सुब्बा धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ । अख्तियारले बाँकेको नेपालगञ्ज उपमहानगर-९ शान्तिनगर स्थित यातायात चोकबाट विहिबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
९- भौतिक पूर्वाधार तथा यातयात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सरकारले गरेको सम्झौताका कारण अहिले इम्बोस्ड नम्बरमा अनिवार्य गर्न हतार गरिएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै मन्त्री दाहालले इम्बोस्ड नम्बर छपाई र जडान गर्न अमेरिकी तथा बाङ्ग्लादेशी संयुक्त लगानीको डेकाटुर टाइगर आईटी कम्पनीसँग २०७३ मा गरिएको सम्झौता अनुसार मङ्सिर ११ सम्म छपाई र जडान नगरिएमा सरकारले ३ अर्ब ९१ करोड तिर्नुपर्ने बताएका हुन् । उनले तोकिएको समयमा २५ लाख इम्बोस्ड नम्बर व्यक्तिकरण नगरेमा ९५ प्रतिशत रकम मुल्यतालिका अनुसार भुक्तानी गर्नुपर्ने सम्झैता रहेको बताए । उनले हालसम्म कम्पनिलाइ ९३ लाख ६४ हजार १९४ डलर भुक्तानी गरिसकिएको जानकारी दिदै हालसम्म ६ लाख ३५ हजार ५४५ छपाई गरिएको र ८७ हजार ९७९ जडान गरिएको बताएका छन् । डेकाटुर टाइगर आईटी कम्पनीसँग रहेको २५ लाख इम्बोस्ड नम्बरको सम्झौता भएकोमा अझै १८ लाख बाँकी रहेको उनले जानकारी दिए । २०७३ सालमा भएको यो सम्झौता अहिलेसम्म विभिन्न कारणले ३ पटक म्याद थपिएको अवस्था रहेको मन्त्री दाहालले जानकारी दिएका छन् । मन्त्री दाहालले भाषाको विषयमा सर्वोच्च अदालतले नै अंग्रेजी भाषामा इम्बोस्ड नम्बर छपाई गर्न समस्या नहुने भन्दै दिएको फैसलाको आधारमा सरकार अगाडी बढेको स्पष्ट गरेका छन् ।
१०- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले नेपाल चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) मा सामले भएको भन्ने विषयमा स्पष्ट गर्न माग गरेका छन् । प्रतिनिधि सभाको विहिबारको बैठकमा बोल्दै सांसद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीनले नेपाल जीएसआईमा सामेल भएको भन्ने कुरा आएको बताउदै यो विषय प्रधानमन्त्रीले संसदमा जानकारी दिन माग गरेका छन् । उनले भने- 'चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामले भएको भन्ने कुरा आएको छ । चिनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पक्षले चीनको ग्लोबल सुरक्षा रणनीति जीएसआईमा नेपाल सहमत भएको भन्ने व्यक्तव्य जारी गरको छ, सत्य कुरा के हो ? यो स्पष्ट हुन जरूरी छ ।' त्यस्तै सांसद पाण्डेले प्रधानमन्त्री ओली चीनमा जापानले आत्मसमर्पण गरेको अवसरलाई विजयउत्सव मनाउने परेडमा सहभागी भएको विषयमा जवाफ मागेका छन् । उनले यो नेपालको असंलग्न परराष्ट्र नीति र पन्चशिलको सिद्धान्त विपरित भएन भन्दै प्रश्न गरेका छन् ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपाका सांसद धवलशमशेर जबराले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा सांसद चौधरीले सरकारले हचुवाका भरमा हतार गरेर सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोप लगाउदै उनले भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए । त्यस्तै राप्रपा सांसद राणाले निजी विद्यालयका माग सुनेर समस्या समाधान गर्न आग्रह गरेका थिए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
१२- वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई–७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ । विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि थाहा भएको भन्दै अहिलेसम्म इ-७ भिसामा पठाउने प्रक्रिया स्वरूप कुनै पनि संस्थालाई पुर्व स्वीकृति दिने कार्य शुरु नभएको बताएको छ । साथै बिभागले अनधिकृत तवरले इ-७ भिसामा दक्षिण कोरिया पठाउछु भन्नेहरुसँग सतर्क हुन आग्रह गर्दै प्रलोभनमा नपर्न र अनधिकृत व्यक्ति वा संस्थालाई रकम नबुझाउन अनुरोध गरेको छ ।
१३- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सकेको राम्रो काम गर्ने तर, नराम्रो काम नगर्ने बताएका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा दज्र्यानी चिन्हबाट सुशोभित पछि बोल्दै महानिरीक्षक खापुङले सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको बताए । उनले भने- 'सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा रहेको छ ।' अपराध अनुसन्धानमा गहिरो चुनौती रहेको भन्दै खापुङले कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रिय स्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको जानकारी दिए ।
१४- काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको छ । काठमाडौँको बसन्तपुरमा आज विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा लिङ्गो ठड्याएर इन्द्रध्वजको उत्थान गरेसँगै इन्द्र जात्रा शुरु भएको छ । यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत गरिदैछ । इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने बताइएको छ ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि स्थित रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २४८० मै कारोबार भएको थियो ।
१६- भारतीय टिभी अभिनेता आशिष कपूर बलात्कारको आरोपमा पक्राउ परेका छन् । एक महिलाले गत महिना दिल्लीमा भएको पार्टीको क्रममा उनको बाथरूममा यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी पक्राउ परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै जना इन्स्टाग्राममा भेटेका थिए । महिलाले घटना रेकर्ड गरिएको दाबी गरेकी छिन्, तर कुनै भिडियो नभेटिएको बताइएको छ । १७ अक्टोबर १९८४ मा जन्मेका आशिष कपूर ४० वर्षका छन् । उनी 'श्ह... फिर कोई है', 'ससुराल सिमर का २', 'ये रिश्ता क्या कहलाता है', 'साथ फेरे - सलोनी का सफर', 'सरस्वतीचन्द्र' र 'मोल्की: रिश्तों की अग्निपरीक्षा' जस्ता टिभी शोहरूमा देखा परेका छन् । उनले ‘देखा एक ख्वाब’ मा उदयको भूमिकाबाट चर्चा कमाए ।
१७- पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो । पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ । यसमा एक बच्चा पनि समावेश छ । पहिले घटनास्थलमा धेरै मानिसहरू फसेको रिपोर्ट गरिएको थियो । तर अधिकारीहरूले सबैलाई बाहिर निकालिएको जानकारी दिएका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुजाले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लिस्बनका मेयर कार्लोस मोएडेसले यो राजधानीको लागि 'दुःखद क्षण' भएको बताए ।
१८- भारतमा जीएसटी करको दरमा हेरफेर गरिएको छ । जीएसटी परिषद्को ५६औं बैठकले १२ प्रतिशत र २८ प्रतिशत कर स्ल्याब हटाउने प्रस्तावलाई अनुमोदन गरेको अर्थमन्त्री निर्मला सितारमणले जानकारी दिएकी छन् । यस सुधारलाई 'नेक्स्ट जेनेरेसन जीएसटी रिफर्म' नाम दिइएको छ । उनले विद्यमान संरचनालाई सरल बनाउन सेप्टेम्बर २२ देखि ५ प्रतिशत र १८ प्रतिशत गरी जीएसटीमा दुई स्ल्याब मात्र लागू गरिने बताएकी छन् । यसले लगभग १७५ वस्तुहरू सस्तो बनाउने दाबि गरिएको छ । अर्थमन्त्री सीतारमणले दूध, रोटी, पिज्जा, चेन्ना लगायत धेरै खाद्य वस्तुहरू जीएसटी मुक्त हुने बताइन् । यस बाहेक, सिमेन्टमा कर २८ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ । यस बाहेक, विलासिताका वस्तुहरू र सुर्तीजन्य पदार्थहरूमा ४० प्रतिशत जीएसटी लगाइनेछ । यो बैठक दुई दिन (३-४ सेप्टेम्बर) को लागि आयोजना गरिने थियो, जुन एकै दिनमा सम्पन्न भएको छ । अब भारतमा दूध, छेना र पनीर, सबै भारतीय रोटी, रोटी, पराठा, चपातीमा कर नलाग्ने भएको छ । त्यस्तै हाल १२ देखि १८ प्रतिशतसम्म जीएसटीलाग्दै आएका खाद्य वस्तुहरू - सस, पास्ता, कर्नफ्लेक्स, घिउ, बटर, इन्स्ट्यान्ट चाउचाउ, चकलेट, कफी र संरक्षित मासुमा अब केवल ५ प्रतिशत जीएसटी लाग्ने छ । त्यस्तै हाल २८ प्रतिशत जीएसटी लाग्दै आएका एयर कन्डिसनर, ३२ इन्च भन्दा ठूला टिभीहरू, भाँडा धुने मेसिनहरू, साना कारहरू, ३५० सीसी वा सोभन्दा कम मोटरसाइकलहरू सबैमा १८ प्रतिशत मात्र लाग्ने छ । जीएसटीको संरचनामा सुधार गर्ने निर्णयहरूको घोषणा गर्दै अर्थमन्त्री सितारमणले जीएसटी स्थिर र स्थायी रहोस् भन्ने कुरा सुनिश्चित गर्ने बताएकी छन् । उनले जीएसटी क्षतिपूर्ति सम्बन्धी पनि कदम चालिरहेको बताउदै जीएसटीका सबै सुधारहरू आम मानिसलाई ध्यानमा राखेर गरिएको बताएकी छन् । श्रममा आधारित र मजदुर-किसान आधारित क्षेत्रहरूलाई सुदृढ पार्न ध्यान दिइएको बताउदै उनले यस बाहेक स्वास्थ्य क्षेत्रमा पनि महत्त्वपूर्ण निर्णय गरिएको बताएकी छन् ।
१९- एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ । बुधबार राति सम्पन्न खेलमा ताजिकिस्तानले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १-० को अग्रता लिएको ताजिकिस्तानले दोस्रो हाफमा ३ गोल गरेको थियो । एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।
२०-७४ वर्षीय रजनीकान्तको फिल्म 'कुली' मा अब ओटीटीमा रिलिज हुने भएको छ । बक्स अफिसमा शानदार प्रदर्शन गरेको कुली सेप्टेम्बर ११ देखि अमेजन प्राइममा रिलिजमा रिलिज हुने भएको हो । अमेजन प्राइमले सेप्टेम्बर ११ मा कुली रिलिज हुने जानकारी दिएको छ । कुलीले भारतीय बक्स अफिसमा करिब २९० करोड कमाई गरेको छ भने विश्वभर ५ सय करोड भन्दा बढी कमाई गरेको छ । यो फिल्म अमेजन प्राइममा तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुँदैछ । फिल्म 'कुली' एक ग्याङ्स्टर ड्रामा फिल्म हो । रजनीकान्त बाहेक नागार्जुन, उपेन्द्र, आमिर खान, सत्यराज जस्ता कलाकारहरू पनि यसमा देखिएका थिए । यी सबै कलाकारहरू ग्याङ्स्टरको भूमिकामा देखिएका छन् । साथै, अभिनेत्री श्रुति हासन यस फिल्ममा देखिएकी थिइन् । 'कुली' लाई लोकेशन कनागराजले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया