ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।
रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए ।
जनश्रुतिअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।
तर, एकदिन खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखे पनि अर्कै व्यक्तिले पनि दाबी गर्छन् । त्यसपछि विवाद हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ ।
प्रतिक्रिया