×

सेलाइयो सती घाटु

images

बागलुङ- मगरगाउँ पाण्डवखानीमा महिना दिन चलेको परम्परागत घाटु नाच आज विर्सजन गरिएको छ । बर्सेनि माघमा फुक्ने घाटु जेठको तेस्रो सातातिर सकिन्छ । त्यसलाई ‘घाटु सेलाउने’ पनि भनिन्छ ।

लोकसंस्कृतिमा आधारित सती घाटु गलकोट नगरपालिका–१० पाण्डवखानीमा प्रचलित छ । शास्त्रीय नाचका रूपमा लिइने घाटुलाई गीतिनाटक शैलीमा प्रस्तुत गरिन्छ । यस वर्ष वैशाख कृष्ण औँसीदेखि सती घाटु सुरु भएको थियो ।

बुद्ध पूर्णिमाका दिन त विशेषरूपमा घाटु देखाउने चलन छ । सो दिन घाटु नाच हेर्नकै लागि टाढाटाढाबाट सर्वसाधारण पाण्डवखानी पुग्छन् । घाटु संरक्षण समितिका अध्यक्ष गिरिप्रसाद थापाले शुक्रबारको अन्तिम नाचपछि आज विधिवतरूपमा सती घाटु विर्सजन गरिएको बताउनुभयो ।

“अब छ महिना घाटु देखाउन नमिल्ने मान्यता छ, माघपछि बल्ल घाटु फुक्छ”, उहाँले भन्नुभयो, “विधिपूर्वक पूजापाठसहित घाटुनीको बिदाइ गरेपछि घाटु समापन हुन्छ ।” बिदाइपछि घाटुनीलाई बाटोमा एक्लै हिँड्दा बाधा नआओस् भनी पूजाका क्रममा कामना गर्ने गरिन्छ । “देवीदेउताले छोएका घाटुनीको शरण पर्ने, उनीहरुको गुरुबाहरुको पूजा गर्ने काम हुन्छ”, अध्यक्ष थापाले भन्नुभयो, “बिदाइमा कारुणिक गीत गाइन्छ, नाच पनि त्यस्तै हुन्छ ।”

यसपालि बीना पुन, स्नेहा पुन, धनमाया घर्ती र सृष्टि बस्नेत घाटुनीका रूपमा हुनुहुन्थ्यो । छ महिनासम्म घाटु फुक्ने गरे पनि पाण्डवखानीमा मुख्यतः वैशाख र जेठमा सती घाटु देखाउने परम्परा छ । तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित सती घाटुमा पूजापाठ चलाउने गुरुबाहरूसहित गीत गाउने कलाकार र नाच्ने घाटुनी हुन्छन् ।

युद्धमा राजाको वीरगतिपछि रानीहरूको बिलौना गीत र नृत्यमार्फत घाटुमा अभिव्यक्त गर्ने गरिन्छ । राजाको वियोगमा मुर्छित रानी सती गएको कथालाई गीतिलयमा ढालेर रानीको प्रतीकको रूपमा घाटुनीहरु नाच्ने गर्छन् । गीतकै सुरमा घाटुनीहरूको आँखा बन्द हुने, ढल्ने र पुनः गीतबाटै उनीहरुलाई उठाउने गरिन्छ । महिला र पुरुष कलाकारले समूहमा बसेर कारुणिक गीतहरु गाउँछन् । घाटुनीहरू गीतको सुरमा लठ्ठिएर नाच्छन् । 

नृत्यकै क्रममा आँखा पूरै बन्द हुनुमा कुनै ‘अलौकिक शक्ति’ रहेको जनविश्वास छ । सती घाटुमा कथाअनुसार अइरा, सतीलगायत विभिन्न खण्डहरू हुने अध्यक्ष थापाले बताउनुभयो । अइरा खण्डमा रोपाइँ र ढ्याङ्ग्रो नाच देखाउने गरिन्छ । 

भगवान शिवजीले जोगीको भेषमा राजासँग निहुँ खोजेपछि रानी मुर्छित भएर ढलेको कथा सती घाटुमा छ । पाण्डवखानीमा बर्सेनि आयोजना हुने वैशाखे पूर्णिमा मेलाको मुख्य आकर्षण पनि घाटु हुने गर्छ । पछिल्ला दुई वर्ष भने कोरोना महामारीका कारण मेलासँगै घाटु नाचको परम्परा पनि रोकिएको थियो ।

पहिले–पहलेझैँ भव्यता दिन नसकिए पनि जेनतेन घाटुको संस्कृतिलाई जगाइएको समितिले जनाएको छ । पाण्डवखानीको घाटु नाचको कुनै लिखित इतिहास नभए पनि तत्कालीन गलकोटे राजा भरत बम मल्ल खानी खन्ने क्रममा त्यहाँ जाँदा घाटु नाच पनि सँगै लिएर गएको कथन छ । 

शनिबार २१ जेठ २०७९ ०८:३९ PM मा प्रकाशित

प्रतिक्रिया