×

कलाकार सागर लम्साल पक्राउ

images

काठमाडौं। हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।

अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन्।

अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन्।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन्। लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन्।

कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ। सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो। युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन्। लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो।

नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन्।

शनिबार २१ चैत २०८२ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया