कर्णाली । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन् । कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरु हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन् ।
हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या बनाएको छ । सिमकोटमा रहेका सरकारी तथा गैरसकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या निम्तिएको हो ।
सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका छन् । नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता भएको नेपालगञ्जमा टिकट नपाएर भौँतारिरहनुभएका विशाल परियारले गुनासो पोख्नुभयो ।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन । पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भए पनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका बताइएको छ ।
नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट हुम्लाका लागि उडान कम गर्दै आएको छ् । टिकट वितरणमा पक्षपात भएको नेपालगञ्जमा रहेका यात्रुले गुनासो पोखेका छन् । नेपालगञ्जमा रहेका निगमका कर्मचारीले आफन्त तथा ठूलाबडाको फोनका आधारमा आफ्नो मानोमानी ढङ्गले टिकट वितरण गरिरहेको पाइएको छ ।
उक्त कार्यालयका कर्मचारीले गरेको व्यवहारले लामो समयदेखि हुम्ली नागरिकले ठूलो समस्या झेल्नु परेको छ । विभिन्न कामका लागि जिल्लाबाहिर नेपालगञ्जको राँझा एअरपोर्टमा सयौँ सेवाग्राही अलपत्र परेका छन् । गत फागुन अन्तिम सातादेखि हवाई उडान नहँुँदा हुम्लाका करिब ४० देखि ६० नागरिक होटलमा बस्न बाध्य छन् ।
हुम्ला उडान भर्ने टिकटका लागि दैनिक नेपाल एयरलाइन्सको कार्यालय जाँदा उक्त कार्यालयका कर्मचारीले उल्टै धम्काउने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । त्यस्तै आर्थिक अभावका कारण नेपालगञ्जमा बिरामीकै अवस्थामा रहेका ७९ वर्षीय टक्कबहादुर शाहीले फागुनको अन्तिमदेखि घर फर्कनका लागि धेरै प्रयास गरे पनि टिकटको अझै अत्तोपत्तो नभएको बताउनुभयो । यस्ता कयौँ समस्या कर्णाली बासीले भोक्दै आएका छन् । यसको सहजताको लागी कर्णाली प्रदेश सरकार यस तर्फ बिशेष ध्यान दिन आबस्यक छ् ।
प्रतिक्रिया