×

विश्वासको मत लिन गएनन् मुख्यमन्त्री यादव, राजीनामा दिने तयारीमा

images

 काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि मधेश प्रदेश सभाको बैठक दिउँसो २ बजेसम्मको लागि स्थागित भएको छ।  मुख्यमन्त्री यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए।

यसअघि बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएपनि मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित भएपछि दिउँसो २ बजे बस्नेगरी बैठक सारिएको छ ।

प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन्। सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।  मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् ।  प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने उनको तयारी छ ।

 मुख्यमन्त्री यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । गत कात्तिक २३ गते तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । 

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकारको विश्वास कायम राख्न कम्तिमा ५४ मत आवश्यक पर्छ । तर ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद मात्र छन्, जसमा एकजना निलम्बित छन् । एमालेको साथमा एक–एक सिटको नेपाल संघीय समाजवादी र राप्रपा छन् ।

पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएर वन तथा वातावरणमन्त्री बनेकी राप्रपाकी कञ्चन बिच्छाको सांसद पद नै धरापमा छ । उनको सांसद पद खारेज गर्न राप्रपाले आइतबार नै प्रदेश सभा सचिवालयलाई पत्राचार गरिसकेको छ ।

सात दलीय गठबन्धनमा भने ७३ सांसद छन् । अहिलेसम्म गठबन्धनका दल एक ठाउँमा छन् । गठबन्धनमा कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् ।

बुधबार १८ मंसिर २०८२ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया