काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि वत्ति जडान गर्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्याण्डफिल्ड साइटमा वत्ति जडानका लागि पोल झारेको छ । अब पोल गाडेर वत्ति जडान गरिनेछ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको अनुगमन र स्थानीयसँगको अन्तक्रियाको क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै वत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई वत्ति जडानका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए । यसैगरी, फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि जडान गर्न पम्प साइटमा आपूर्ति गरिसकिएको छ । स्थानीयसँग जनाइएको प्रतिबद्धता बमोजिम नियमित अनुगमन गर्न शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको छ ।
२- सुनकोसी नदीमा ठुलो सुख्खा पहिरो झरेको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वाड नम्बर ६ को झगडेबेसीको पारीबाट (चौरिदेउराली गाउँपालिका ६) बिहान ८ वजे देखि ठुलो पहिरो आइ सुनकोशी नदी केहीबेर थुनिन गएको थियो । पछि नदीले नै पहिरो खोलेर बग्न थालेपछि सम्भावित खतरा टरेको स्थानीयले बताएका छन् । अहिले पनि सानो तहमा पहिरो खसिरहेको र ठुलो पहिरो खासमा समस्या आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
३- प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको उच्चस्तरिय छलफलमा डेडिकेटेड फिडर र टंकलाइनको शुल्क सम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कार्कीको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ, उद्योग वाणिज्य मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानको मध्यमार्गी प्रस्ताव आएको हो । छलफलमा भएको प्रस्ताव अनुसार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभई विवादित रकम मानि धरौटीका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटी रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जानेसंगै अन्य कानूनी उपचार पनि खोज्न सक्नेछन् । सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखि पुनरावलोकन एवं अन्य व्यहोरा उल्लेख गरी पेश गर्न सक्नेछन् । समस्या समाधानका लागि महासंघ अध्यक्ष ढकालले आइतबार पनि प्रधानमन्त्री कार्की, अर्थमन्त्री खनाल लगायत उच्च अधिकारीहरुसँग भेट गरी समाधानको पहल गरेका थिए । त्यसलगत्तै सम्बन्धित उद्योगीहरुलाई महासंघमा आमन्त्रित गरी छलफल गरिएको थियो । उद्योगीहरुले महासंघ अध्यक्षलाई छलफल गर्दा किस्ता रकम नभनि विवादित रकमको धरौटीका रुपमा विद्युत प्राधिकरणले स्वीकार गरी कानूनी उपचारको अवसर प्राप्त भए सहमति हुन सकिने वताएका थिए । अहिले करिब दुई दर्जन उद्योगको डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेवापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको छ ।
४- कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा नदिने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै कुलमानले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको स्पष्ट गरेका छन् । विभिन्न सञ्चारमाध्यममा कुलमानले राजीनामा दिएर नयाँ दल गठन गर्ने समाचार प्रकाशित गरेका थिए । कुलमानले भनेका छन्: विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।
५- चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले दक्षिण कोरियाको ग्योङजुमा भेटघाट गरे । भेटघाटको क्रममा सी जिनपिङले ली र उनकी श्रीमतीलाई दुईवटा शाओमी मोबाइल फोन उपहार दिए । उपहार स्वीकार गर्दा, राष्ट्रपति म्योङले सुरक्षा कर्मचारीहरूलाई कोरियाली भाषामा भने, 'यसमा कुनै भाइरस छ कि छैन भनेर पहिले राम्ररी जाँच गर्नुहोस् ।' वास्तवमा, राष्ट्रपति लीले बिर्सए कि त्यहाँ एक स्वचालित अनुवादक जडान गरिएको छ, जसले उनले भनेका कुराहरू तुरुन्तै चिनियाँ भाषामा अनुवाद गर्नेछ । जब स्वचालित अनुवादकले यसलाई चिनियाँ भाषामा अनुवाद गरे, चिनियाँ राष्ट्रपति सी जिनपिङ हाँसे । उनले भने, 'यदि तपाईं चाहनुहुन्छ भने, यसमा ब्याकडोर छ कि छैन भनेर जाँच गर्न सक्नुहुन्छ ।' ब्याकडोर भनेको सफ्टवेयर हो जसले उपकरणलाई निगरानी गर्न अनुमति दिन्छ । दुवै नेताहरू ठूलो स्वरमा हाँसे ।
६- सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । साथै आन्दोलनमा मृत्यु भएका अन्यको बारेमा अध्ययन भइरहेको जानकारी मन्त्री खरेलले बताएका छन् ।
७- बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ । आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताएको छ । त्यसैले आयोजनाले उक्त सडकमा कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना ( अर्थात २०८२ पौष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।
बैकल्पिक सडक:
- पुर्व पश्चिम राजमार्ग हुँदै आउने / जाने सवारीसाधनः नारायणघाट मुग्लिङ्ग - पोखरा- स्याङ्जा - पाल्पा- बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट ) - रामपुर - पिपलडांडा- पाल्पा- बुटवल ।
- काठमाडौंबाट बर्दघाट पश्चिम जाने / बुटवल-काठमाडौं जाने सवारी साधनहरुः काठमाडौं-मुग्लिङ्ग-पोखरा- स्याङ्जा-पाल्पा-बुटवल ।
- दुई पांग्रे र फोरह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकः दुम्कीबासज्याम-रे- डाँडाचोक- डमार हुँदै भुताहा ।
८- प्रधानमन्त्री सुशिला कार्कीले सरकारका सचिवहरुलाई १४ बुँदे निर्देशन दिएकी छन् । सोमबार सिंहदरबारमा बसेको वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् । सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरेका थिए ।
प्रधानमन्त्री कार्कीले दिएको १४ बुँदे निर्देशन:
१- गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रणऽ सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्।
२- सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस् ।
३- निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस्।
४- आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुहोस्।
५- कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउन के के गर्नुपर्छ, गर्नुहोस् ।
६- आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्। भौतिक संरचना मेशिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस् ।
७- निर्वाचनको वातावरण बनाउन मैल निर्वाचन आयोग सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेकी छु। निर्वाचनको पूर्व तयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्नुहोस्।
८- सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्नुहोस्। परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापना गर्नुहोस्।
९- मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक बसी समीक्षा गर्नुहोस्। राष्ट्रिय विकास समस्या समाधान समितिमा ल्याउनु पर्ने प्रस्तावहरू समेत ल्याउनुहोस्।
१०- मेरो अध्यक्षताका अन्तर प्रदेश परिषद लगायतका सबै परिषद् वा समितिका बैठकहरूको व्यवस्थापन गर्नुहोस् ।
११- नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिला सम्बन्धी छलफल आयोजना गरौं ।
१२- प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्नेछ। तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउन जे जे गर्नुपर्ने हो गर्नुहोस्।
१३- कानूनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नु पर्नेछ । यसमा कुनै सम्झौता नगर्नुहोस् ।
१४- अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्नुहोस् ।
तपाइँहरू स्थायी सरकार हो। आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनु हुनेछ र नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रवन्धको ग्यारेन्टी गर्ने जिम्मा तपाइँहरूकै हो ।
९- नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ६ अर्ब ५ करोड २२ लाख २६ हजार ९०३ मा कारोबार भएको थियो । आज विकास बैंक, होटल्स, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज मुक्तिनाथ कृषि कम्पनिको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको शेयर ९.९८ प्रतिशतले घटेको छ । त्यसैगरी आज इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको शेयरको ३७ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
१०- नेपाल प्रहरीको हेड क्वाटरले भदौ २३-२४ को जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि कुनै पनि समय बोलाउन सक्ने भन्दै आन्दोलनका क्रममा बढी क्षति भएका क्षेत्रमा खटिएका प्रहरी इन्चार्जहरुलाई काठमाडौँ उपत्यका नछोड्ने अवस्था मिलाउन निर्देशन दिएको हो । भदौ २३-२४ को आन्दोलनको जाँचबुझ आयोगले अनुसन्धानक क्रममा बयान लिने क्रम शुरु गरेको छ । यसैक्रममा आयोगले नख्खु कारागारका प्रमुखको बयान लिएको छ ।
११- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल बीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरेका थिए । साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए । भेटको अवसरमा राजदुतले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरे । साथै, नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराएका थिए । त्यसैगरी राजदुतले ईपियस (इपिएस) प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकहरूको उद्यमशिलता प्रवर्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंक मार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएकोमा सोका लागि आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरेका थिए ।
१२- अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी अन टपले देशभर १० करोड ५१ लाख ४८ हजार ८०३ रूपैयाँ ग्रस कमाइ गरेको हो । सो अवधिमा यो फिल्मको ३ लाख ३३ हजार ६०५ वटा टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ । निर्माण पक्षले भने रिलिजको १५ दिनमा फिल्मले विश्वभर १५ करोड कमाई गरेको दाबी गरेको छ । फिल्मलाई दर्शकले रुचाएका कारण अहिले पनि देशभरका कैयौं हलमा अहिले पनि हाउसफुलका साथ चलिरहेको छ । सुयोग गुरूङ निर्देशित एड्भेन्चर–लभस्टोरी जनराको 'जेरी अन टप' मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरूङले मुख्य अभिनय गरेका छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ । त्यस्तै हाल प्रदर्शनमा रहेको फिल्म वरिष्ठ बलरामले २ करोड ४८ लाख ३० हजार ४८८ ग्रस कमाइ गरेको छ । त्यसैगरी फिल्म मैझारोले एक करोड ९५ हजार ३०९ र फिल्म सोल्टिनीले २८ लाख ८० हजार १५६ ग्रस कमाई गरेको बोर्डले जानकारी दिएको छ । बोर्डले सार्बजनिक गरेको बक्स अफिस रिपोर्ट कार्तिक १५ गतेसम्म दशैमा रिलिज भएको फिल्म बलिदानले ५ करोड १० लाख ३४ हजार ८०२ ग्रस कमाई गरेको छ भने हरि बहादुरको जुत्ताले ४ करोड ७१ लाख ३७ हजार ६८७ ग्रस कमाई गरेको छ । त्यस्तै फिल्म माइतीघरले ४ करोड १५ लाख ५१ हजार ८८८ कमाई गरेको छ ।
१३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलामका तत्कालिन डिभिजनल वन अधिकृत दान बहादुर श्रेष्ठविरुद्ध एक करोड ४३ लाख १८ हजर ९३७ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ । हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत (अधिकृत दशौ तह) कार्यरत श्रेष्ठले २०४८ सालदेखि २०८० सम्मको परिवारसहित आय अनुसार २ करोड १६ लाख ८५ हजार आम्दानी देखिएको तर उनको सो समयमा ३ करोड ६० लाख सम्पत्ति देखिएकोले एक करोड ४३ लाख १८ हजारको स्रोत पुष्टि नभएको जनाएको छ । अख्तियारले विशेष अदालत काठमाडौँमा स्रोत नखुलेको रकम बराबरको बिगो र कानुन अनुसारको जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
१४- राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार दिएका छन् । आफु आजै कतारको चार दिने भ्रमणका लागि त्यस तर्फ प्रस्थान गरेकाले उनले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले भनेको छ: सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्वत् २०८२ साल कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने दोस्रो विश्व समिट फर सोसियल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्वत् २०८२ साल कात्तिक १७ गते (तदनुसार ०३ नोभेम्बर, २०२५) सोमबारका दिन त्यसतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएको छ ।
१५- पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ । उनी उरुआपान शहरका मेयर थिए । प्रहरीले घटना लगत्तै मेयरलाई अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ । गोलीबारीमा एक नगर परिषद् सदस्य र एक अंगरक्षक पनि घाइते भएका छन्। प्रहरीले आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको बताएको छ । संघीय सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले मेयरलाई गोली हान्न प्रयोग गरिएको हतियार यस क्षेत्रमा कार्यरत दुई अपराध संगठनहरूको भएको बताएका छन् । राजनीतिक र संगठित अपराध हिंसाका कारण मेक्सिकोमा राजनीतिज्ञहरूमाथि आक्रमण सामान्य हुदै गएको छ । मेयरको हत्याको कारण अझै थाहा स्पष्ट भएको छैन । मिचोआकान मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्यहरू मध्ये एक मानिन्छ र लामो समयदेखि यस क्षेत्रमा प्रभुत्वको लागि विभिन्न गिरोह र लागूपदार्थ तस्करहरू बीच झगडा हुने गरेको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य स्थिर रहदै २ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३९ हजार ७ सयमै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३०६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३०५५ मा कारोबार भएको थियो ।
१७- नेकपा माओवादी केन्द्र र गोपाल किराँतीको नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच एकता भएको छ । सोमबार माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराँतीबीच एकताको तीन बुँदे सहमति भएको हो । सहमतिमा विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने, गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने र सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने बुँदा रहेका छन् । दुवै पार्टीले स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनवीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गरेका छन् ।
१८- राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल सोमबार बिहान कतारको चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशिला कार्कीलगायतले विदाई गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहेका छन् । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।
१९- भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्वकप जितेको महिला क्रिकेट टिमलाई ५१ करोड पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव देव्जित सैकियाले विश्व विजेता महिला टिमलाई ५१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको जानकारी दिएका हुन् । यो रकम खेलाडी कोच, छ्नौत्कर्ता र सपोर्ट स्टाफलाई वितरण गरिने उनले बताएका छन् । त्यस्तै विश्वकप जितेको भारतीय टिमलाई आइसीसीले नगद पुरस्कार स्वरूप ४० करोड भारु दिएको छ । आइसीसीले यस विश्वकपदेखि पुरुष विश्वकप सरह पुरस्कार दिने घोषणा गरेको थियो । त्यस्तै उपविजेता बनेको दक्षिण अफ्रीकाले २० करोड भारु पुरस्कार पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रीकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।
२०- राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ । त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर-टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ । त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया