काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय बैठक भएको छ । हाल चीनको बेइजिङमा रहेका पुटिन र उनबीच द्विपक्षीय बैठक भएको हो ।
बैठकमा पुटिनले किम जोङ उनसँग उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउदै उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेकोमा प्रसंशा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
पुटिनले किमलाई उत्तर कोरियाली सैनिकहरूले त्यहाँ साहसपूर्वक लडेको बताएको बिबिसीले उल्लेख गरेको छ । पुटिनको जवाफमा किमले रुससँगको सहकार्य अझै बढाउने र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ ।
यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको थियो, जहाँ चीन भ्रमण गर्ने राष्ट्र प्रमुखहरूलाई स्वागत गरिन्छ । यसअघि, पुटिन र किमले चीनको विजय दिवस परेडको क्रममा भेटेका थिए । यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए ।
दुवै नेता दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा चीनको बेइजिङमा आयोजना गरिएको सैन्य परेडमा सहभागी हुन चीनमा रहेका छन् । परेड कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।
प्रतिक्रिया