×

गल्ती सच्याएर धुलो टकटक्याउँदै नयाँ विश्वासका साथ अघि बढौँ

images

काठमाडौँ, साउन १८ गते। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट पार्टी नीति र विचारप्रधान हुने भएकाले नेताहरूको चाकडी र जयजयकार नगर्न कडा चेतावनी दिनुभएको छ। सोमबार काठमाडौँमा आयोजित २४औँ बोत्ले स्मृति दिवसको अवसरमा बोल्दै उहाँले पार्टीभित्र व्यक्तिपूजाभन्दा नीति र वैचारिक प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

नेता नेपालले कम्युनिस्ट आन्दोलनमा व्यक्तिभन्दा विचार ठुलो हुने भन्दै यो नियम नेपालका सबै राजनीतिक दलहरूमा लागू हुनुपर्ने धारणा राख्नुभयो।  "हाम्रो कम्युनिस्ट पार्टी नीति र विचार प्रदान गर्ने पार्टी हो, त्यसैले नेताहरूको चाकडी गर्ने र जयजयकार गर्ने काम कसैले नगर्नुस्। व्यक्तिभन्दा नीति र सिद्धान्तमा जोड दिनुस्," नेता नेपालले भन्नुभयो।  कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पूरा भएको सन्दर्भमा विभिन्न कालखण्डमा भएका कमजोरीहरूको समीक्षा हुन आवश्यक रहेको उहाँले बताउनुभयो।

 कमजोरीका कारण कतै जनतामा निराशा बढेको र कम्युनिस्ट पार्टीप्रतिको आकर्षण घटेको छ कि भन्नेबारे गम्भीर खोजी गरी त्रुटि सच्याउने साहस गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

"हामीबाट भएका कमजोरीहरूको खोजी गरौँ, त्रुटि सच्याउने साहस गरौँ र धुलो टकटक्याएर फेरि नयाँ विश्वासका साथ अगाडि बढौँ," उहाँको आह्वान थियो। 

 नेपालको राजनीतिमा जनताको गुम्दै गएको विश्वासलाई पुनः जोगाउन र देशलाई सही दिशा दिन सबै वामपन्थी तथा देशभक्त शक्तिहरू एकजुट भएर हानेमालो गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। 

२४औँ बोत्ले स्मृति दिवसकै अवसरमा नेकपाका अर्का नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि केवल सरकार बनाउने र ढाल्ने राजनीतिमा केन्द्रित हुनु आफूहरूको भूल भएको स्वीकार गरिसकेका छन्। त्यसकै निरन्तरता स्वरूप सहसंयोजक माधव नेपालले पनि पार्टीभित्र मौलाउँदै गएको चाकडी प्रथा र व्यक्तिवादी प्रवृत्तिको कडा आलोचना गर्दै वैचारिक पुनर्जागरणको आवश्यकता औंल्याउनुभएको हो।  

यो समाचार इ-सञ्चारपाटी डटकमका लागि विशेष रूपमा तयार पारिएको हो।

सोमबार १८ साउन २०८३ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया