काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचनाहरू हटाउने प्रक्रियाका क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारको उद्देश्य संरचना हटाउने मात्र नभई असुरक्षित बसोबासको दीर्घकालीन व्यवस्थापन गर्नु समेत रहेको दाबी गरे।
जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारबाट नभएको दाबी गर्दै उनले अव्यवस्थित बसोबास र भूमिहीन सुकुमवासीका मुद्दालाई सम्बोधन गर्न शक्तिशाली प्राधिकरण वा आयोगमार्फत काम अगाडि बढाइने बताए।
लामिछानेले उक्त आयोगले गर्ने निर्णय र सिफारिसका आधारमा मात्रै अन्तिम कार्यान्वयनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेकोमा जोड दिए। उनका अनुसार सरकारले विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र बाढीको उच्च खतरा रहेका स्थानमा बसेका नागरिकहरूको सुरक्षालाई लिएर गम्भीर चासो देखाएको हो।
खतरापूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकहरूलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सभापति लामिछानेले यस्तो प्रक्रियामा कसैलाई पनि आश्रयविहीन नबनाइने रास्वपा र वर्तमान सरकारको स्पष्ट नीति रहेको बताए।
काठमाडौंका विभिन्न स्थानमा सुरु भएको संरचना हटाउने अभियान र जारी भएका सूचनाहरू देशैभरिका असुरक्षित बसोबासलाई सम्बोधन गर्ने लक्ष्यका साथ आएको उनको भनाइ थियो।
कतिपय वृत्तमा यस कदमलाई लिएर नागरिकमा त्रास फैलाउने काम भएको प्रति लक्षित गर्दै लामिछानेले देशैभरका भूमिहीन सुकुमवासीहरूलाई आतंकित नहुन आग्रह गरे।
उनले असुरक्षित बसोबासको समस्यालाई तत्काल सम्बोधन गर्ने गरी सरकारले ठोस योजना अघि सारेको र सोही बमोजिम देशभर सूचनाहरू जारी गरिएको जानकारी दिए। केन्द्र सरकारले गरेको निर्णय र नागरिकको बासस्थानको अधिकारलाई सुरक्षित गर्ने गरी नै काम अगाडि बढ्ने भन्दै उनले सबैलाई संयमित भएर सहयोग गर्न अपिल समेत गरेका छन्।
प्रतिक्रिया