×

नेपाल प्रिमियर लिग- कर्णाली याक्स एक खेल बाँकी छँदै प्लेअफ दौडबाट बाहिरियो, पोखराको दोस्रो जित

images

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लगातार खराब प्रदर्शन दोहोर्याउँदै कर्णाली याक्स एक खेल बाँकी छँदै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि कर्णालीको प्लेअफ यात्रा यहीँ समाप्त भएको हो । गत सिजन प्लेअफ खेलेको कर्णाली यसपालि भने लगातार चौथो हारले प्रतिस्पर्धाबाटै बाहिरिन बाध्य भयो ।

लिगको पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै सिजनको एक मात्र जित दर्ता गरेको थियो । तर तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रन, चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेट र पाँचौँ खेलमा काठमाडौंसँग ५ विकेटले पराजित हुँदै उनीहरूको प्लेअफ आशा टुट्यो ।

अब कर्णालीले लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ ।

उता, कर्णालीलाई हराएसँगै पोखरा एभेन्जर्स प्लेअफ सम्भावनामा जिउँदै छ । पोखराले अब चितवन राइनोज तथा काठमाडौं गोर्खाजसँग खेल्नेछ । लिग चरणमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटले पराजित हुँदै जनकपुरलाई २५ रनले हराएको थियो । सुदूरपश्चिमसँग १८ रन तथा विराटनगरसँग ५३ रनको हार पनि बेहोरेको थियो । कर्णालीमाथिको जितसँगै पोखरा ३ हार र २ जितसहित ४ अंकमा उक्लिँदै तालिकाको पाँचौँ स्थानमा पुगेको छ ।

मङ्गलबार १७ मंसिर २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया