काठमाडौं। काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्गका रूपमा रहेको नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत नागढुङ्गा नजिकै पातले वन क्षेत्रमा सडक भासिएपछि आवतजावत गम्भीर रूपमा प्रभावित भएको छ।
प्रहरी तथा प्राविधिक टोलीका अनुसार सडकको पुरानो सुरक्षा पर्खाल भासिएकाले सवारी साधन सञ्चालनमा बाधा पुगेको हो। सडक अवरुद्ध भएपछि तत्काल यातायात व्यवस्था सहज बनाउन र यात्रुलाई सास्ती हुन नदिन उक्त खण्डबाट गुड्ने अन्य सवारी साधनहरूलाई वैकल्पिक मार्गका रूपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग हुँदै पठाउने व्यवस्था मिलाइएको छ।
हाल सडक भासिएको स्थानमा इन्धन बोकेका र अत्यावश्यक भारी सवारी साधनलाई मात्रै सावधानीपूर्वक एकतर्फी आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ। बाँकी साना तथा निजी सवारी साधनहरूलाई सुरुङमार्गबाट डाइभर्ट गरी यात्रा सहज बनाइएको छ।
सडक विभागको प्राविधिक टोली घटनास्थल पुगेर भासिएको सडकको मर्मत र अध्ययन सुरु गरिसकेको छ। प्राविधिक अध्ययन पूरा गरी चाँडै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
प्रतिक्रिया