काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएकोसम्बन्धी रिट पूर्ण इजलासमा पठाएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो ।
हालसम्म लिखित जवाफ दर्ता नभएको र मुद्दामा अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले फैसलाको सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो ।
यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै मंगलबारका लागि पेसी तोकेको थियो ।
इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो ।
यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मागेको थियो ।
प्रतिक्रिया