काठमाडौँ: एसीसी यू–१९ प्रिमियर कपको नेपाल उपविजेतामा सीमित भएको छ । फाइनल खेलमा घरेलु टोली युएइसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।
फाइनलमा युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ दशमलव दुई ओभरमा १२० रनमा समेटियो । नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४, आशिष लुहार र रोशन विश्वकर्माले समान २५ र ५ रनको योगदान गरे पनि जिताउन सकेनन् । युएईका युग जै शर्मा र अली असगर शम्सले तीन/तीन विकेट हात पारे ।
यसअघि अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक युएई ४५ दशमलव पाँच ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे । नेपालका दयानन्द मण्डलले छ, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एकरएक विकेट लिए ।
यसैबीच नेपाल र युएई एसिया कप खेल्नका लागि भने यसअघि नै छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान थियो । यु–१९ एसिया कप आगामी डिसेम्बरमा युएईमै हुँदैछ ।
प्रतिक्रिया