काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र संकटमै रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्र संकटमुक्त भइनसकेको बताएका हुन् ।
सोमबार विराटनगरमा आयोजना गरिएको एकतासन्देशसभामा उनीहरुले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् । कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै वामपन्थी मात्र नभइ लोकतान्त्रिक शक्तिहरु पनि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
सभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारको म्यान्डेट चुनावी प्रयोजनको लागि मात्रै रहेको बताएका हुन् । ‘यो अन्तरिम सरकार मुख्य त चुनावी प्रयोजनका लागि बनेको हो । यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन अर्थ राख्नेखालका सन्धि, सम्झौता या त्यस्ता प्रोजेक्टहरु अगाडि बढाउँछन् भने त्यो म्यान्डेटभन्दा बाहिरको कुरा हो । विलकूल सही हो । हामी सबैले आवाज उठाउन जरुरी छ,’– प्रचण्डले भने ।
प्रचण्डले वर्तमान सरकार रगठनमा आफूहरुको पनि भूमिका रहेको बताए । यो सरकारले घोषित मितिमै स्वच्छ, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डको माग छ । नेकपा देशभरी चुनाव अभियानमा हिँडिसकेको प्रचण्डले बताए ।उनले जेनजी आन्दोलनको दोस्रो दिनका घटनाले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखाएको उल्लेख गरे । देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय भएको भन्दै उनले राजनीतिक समाधानको बाटो जनमतबाटै सम्भव हुने स्पष्ट पारे ।
उनले अब तीक करोड नेपालीलाई नै राष्ट्रिय फौज बनाउन तागतको आवश्यकता रहेको बताए । जरुरी पर्दा तीन करोड नेपाली नै मर्न तयार नहुने हो भने राष्ट्र बचाउन नसकिने स्थिति देखापर्दै गएको उनको टिप्पणी छ ।
‘हामीसँग तीन करोड नेपालीहरुको राष्ट्रिय फौज बनाउन सक्ने तागत हामीसँग छ । यदि तीन करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँका कुनै तागतले नेपाललाई हराउन सक्दैन । त्यसकारण मेरो चिन्ता र अपिल के हो भने हामी सबै राष्ट्रको निम्ति सम्पूर्ण जनता नै फौज बन्ने संकल्प नगर्ने र सम्पूर्ण जनता राष्ट्रको निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन । त्यसकारणले जनताले मात्रै, जनताको तागतले मात्रै साम्राज्यवादीलाई परास्त गर्न सकिन्छ,’– उनले भने ।
प्रतिक्रिया