×

एकीकृत समाजवादी फुट्ने निश्चित, खनाल र भुसाल पक्ष छलफलमा जुट्यो

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादी फुट्ने निश्चित भएको छ । सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले शनिबार सुकेधारामा भेला गरेर नयाँ दल गठनको प्रक्रियामा जाने शुरुवात गरेसँगै एकीकृत समाजवादी फुट्ने निश्चित भएको हो ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव पारित गरेपछि असन्तुष्ट रहेका नेता खनाल र भुसालसहितका नेताहरु अलग बाटोमा जाने तयारी गरेका हुन् । 

भेलामा सम्मानित नेता खनालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठलगायतका नेताहरु सहभागी भएका छन् ।

यस समुहले छिट्टै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने र नयाँ दल गठनको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ ।

यसैबीच यो समुह नेकपा एमालेमा फर्किन सक्ने समेत अड्कलबाजी भएका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फर्किन आव्हान गरेको प्रति नेता खनालले सकारात्मक प्रतिक्रिया दिएका छन् । आजको भेलामा जाने क्रममा प्रतिक्रिया दिदै घर फर्किने वातावरण बनाएमा जान कुनै समस्या नरहेको बताएका छन् । उनले घरमा बस्ने ठाउ बनाउनु पर्यो भन्ने सन्देश एमालेलाई दिएका छन् ।

शनिबार १६ कात्तिक २०८२ ०९:५३ PM मा प्रकाशित

प्रतिक्रिया